सेयर कारोबारमा कर घटाउने तयारी, लगानीकर्ता र व्यापारी छुट्याइँदै

सेयर कारोबारमा कर घटाउने तयारी, लगानीकर्ता र व्यापारी छुट्याइँदै


बैकिङ्ग समाचार ।

सेयर कारोबारमा कर घटाइने भएको छ । लगानीर्ता र व्यापारी छुट्याउँदै सेयरमा लाग्दै आएको दोहोरो कर पनि हटाइने भएको छ । सेयर किनबेचको अवधि हेरेर लगानीकर्ता र व्यापारी छुट्याउन लागिएको हो । 

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७ /०७८ को बजेटमा यस्तो व्यवस्था कायम गर्न सरकारलाई लिखित सुझाव पेस गरेको छ । 

पुँजी बजारमा लगानीकर्ता र व्यापारी छुट्याउनुपर्छ भन्ने अर्थमन्त्री युवराज खतिवडाको पनि मान्यता हो । त्यसैले धितोपत्र बोर्डको सुझाव बजेटमार्फत कार्यान्वयन हुने अपेक्षा गरिएको छ ।

सेयर बजारका लगानीकर्ताको हित हुने, बजारको स्थायित्व हुने, सेयर बजारमा लगानीकर्तालाई आकर्षिक गर्ने खालका सुझाव मन्त्रालयमा पेश गरेको बोर्ड स्रोतले बतायो । 

स्रोतकाअनुसार आगामी आवको बजेटका लागि पठाएको सुझावमा तत्कालिन र मध्यकालिन लगानीकर्ताको विषय, पुँजीगत लाभकरको विषय, लाभांशमा पाउने छुट र म्यूचुअल फण्डका विषयलाई प्राथमिकतामा राखिएको छ ।

एक वर्षभन्दा बढी राखेर सेयर बेच्ने गर्ने र एक वर्षभन्दा कम समयमा सेयर बेच्नेलाई दीर्घकाल र अल्पकालकोरुपमा मानिने र अहिले ५ प्रतिशत लाग्ने कर दीर्घकालीन लगानीकर्ताका लागि १ प्रतिशत र अल्पकालीन लगानीकर्ता (व्यापारी) का लागि ५ प्रतिशत कर लगाउने व्यवस्था गर्नुपर्ने सुझाव दएको स्रोत बताउँछ । 

दीर्घकाल र अल्पकाल छुट्याएर करमा सहुलियत दिन सकेमा प्रभावकारी हुने बोर्डको दावी छ । त्यसैगरी, नगद र बोनस सेयरमा ५ प्रतिशत कर तिर्नुपर्ने बाध्यता हटाउनुपर्ने उल्लेख छ ।

लगानीकर्ताहरुले पनि दोहोरो कर प्रणाली हटाउन माग गर्दै आएका थिए ।  त्यस्तै, म्यूचुअल फण्डमा गरेको लगानीमा केही कर घटाउने विषय पनि समावेश भएको बताइएको छ । यी माग बोर्डले यी लगायत यस्तै माग आव २०६७/०६८ देखिनै पठाउने गरेपनि अहिलेसम्म मन्त्रालयले उक्त मागमा कुनै ध्यान नदिएको देखिएको छ ।

नेप्सेले बोर्डमार्फत् अर्थ मन्त्रालयमा पठाएको रायमा नेप्सेलाई सरकारको स्वामित्वमा नराखी निजीकरण गर्न, सिडिएससीमा नेप्सेको १०० प्रतिशत सेयरलाई बेच्न पाउनुपर्ने रहेको छ ।

सुझावमा नेप्से र सिडिएससीलाई कम्पनी मोडलमा लैजानको लागि बजेटमा समावेश गर्न सुझाव पठाइएको छ ।

सिडिएससीको १०० प्रतिशत आफ्नो स्वामित्वमा रहेको सेयर नेप्से ५० प्रतिशत बेच्ने तयारीमा रहेको छ । त्यसैले नेप्सेको सुझाव पनि त्यही अनुसारको रहेको छ ।