कोरोना कहरः बैकिङ्ग क्षेत्रका हजारौं कर्मचारीको रोजगारी गुम्ने संकेत 

कोरोना कहरः बैकिङ्ग क्षेत्रका हजारौं कर्मचारीको रोजगारी गुम्ने संकेत 


बैकिङ्ग समाचार । 

कोरोना भाइरसका कारण  बैकिङ्ग क्षेत्रमा काम गरिरहेका हजारौं कामदारले रोजगारी गुमाउने भएका छन् ।

कोरोना रोकथाम तथा उपचारका लागि सरकारले गत चैत ११ गतेदेखि देशलाई लकडाउन गरेको छ । लकडाउनका कारण आर्थिक गतिविधि ठप्प हुँदा  बैकिङ्ग प्रणालीमा ठूलो असर परेको छ ।

 बैकिङ्ग क्षेत्रको आम्दानी र नाफा प्रभावित हुने भएपछि बैंकहरुले कर्मचारी कटौति गर्ने भएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुमा करार र आउट सोर्सिङमा काम गर्ने कामदार कटौति गर्ने भएका छन् । स्थायी कर्मचारीभन्दा न्यून सेवा सुविधा पाएर बढी खटिने ती कर्मचारीको जागिर कोरोना कहरले गुम्ने भएको छ ।

आर्थिक गतिविधि घटेसँगै बैंकमा काम नै कम हुँदै गएकाले करारमा कार्यरत सम्झौता नविकरण नहुने नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका सीइओ भुवन दाहालले बताए ।

‘जति पनि कर्मचारी करारमा छन्, अब उनीहरुको सम्झौता नवीकरण हुँदैन,’ दाहालले क्लिमाण्डूसँग भने ‘जसको ३ वा ६ महिनाको करार सम्झौता थियो त्यो सकिएपछि बैंकहरुले सम्झौताको समय थप्दैनन् ।’

कारोबार तथा गतिविधिहरु नै कम भएपछि बैंकहरुले सम्झौताका कर्मचारीको काम स्थायी कर्मचारीलाई नै गराउने दाहालको भनाइ छ ।

कामको चाप बढेपछि बैंकहरुले ३ महिनादेखि १ वर्षसम्म करारमा राखेर काम लगाउँदै आएका छन् ।

अहिले  बैकिङ्ग क्षेत्रमा करिब १ लाख कर्मचारी छन् । जसमध्ये करार र आउटसोर्सिङ गरेर करिब ३० प्रतिशत अर्थात् ३० हजार कर्मचारी छन् ।

करार र आउटसोर्सिङमा कार्यरत कामदारमध्येबाट करिब ३० प्रतिशत कटौति हुनसक्ने एनबी बैंकका सीइओ ज्ञानेन्द्र ढुंगाना बताउँछन् । यसरी हेर्दा बैंकिङ प्राणलीबाट १० हजारले जागिर गुमाउने देखिन्छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार हाल नेपालमा १ सय ६२ बैंक तथा वित्तीय संस्था र त्यसका ९ हजार ६ सय ९२ शाखा कार्यलय छन् । कुल कर्मचारीको संख्या ६८ हजार ४ सय बढी छ । जसमध्ये ३ हजार ४ सय बढी कर्मचारी करारमा राखिएका छन् ।

 बैकिङ्ग कारोबार सम्बन्धी काम गर्ने कर्मचारी बाहेक बैंक वित्तीय संस्थामा सुरक्षा गार्ड, सरसफाई गर्ने र सवारी चालक आउट सोर्सिङ गरिएको हुन्छ ।

एउटा शाखामा औषतमा ३ जनाका दरले आउट सोर्सिङ गरेर कामदार राखिएको मान्न सकिन्छ । यसरी हेर्दा यस प्रकारका कामदारको संख्या ३० हजारको संख्या हुन जान्छ ।