नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा सामान्य सुधार

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा सामान्य सुधार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज विहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से १६.६९ अंकले घटेर २ हजार ६ सय १३ दशमलब ६७ विन्दुमा रोकिएको हो । बुधबार नेप्से २०.६३ अंकले घटेर २ हजार ६ सय ३० दशमलब ६ विन्दुमा रोकिएको थियो ।

त्यस्तै, आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज ३ अर्ब २४ करोड ८९ लाख बराबरको कारोबार भएको छ । बुधबार २ अर्ब ४ करोड ४३ लाख बराबरको कारोबार भएको थियो ।  

आज कारोबार भएका ४९ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १४१ कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् । यसमध्ये आज राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था र इमर्जिङ नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८१९.५० रुपैयाँ पुगेको छ भने इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७६०.७० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज नेपाल फाइनान्स, सामलिङ पावर कम्पनी, माउन्टेन हाइड्रो नेपाल, मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी जीवन विकास लघुवित्तको भएको छ । यस कम्पनीको आज ३० करोड ६२ लाख भन्दा बढीको कारोबार भएको छ ।