बैंकिङ्ग समाचार, काठमाडौं ।
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को संस्थापक शेयर विक्री प्रक्रिया हाललाई स्थगित भएको छ ।
कम्पनीले नियमक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनमा विक्रीकै क्रममा ३ करोड ३० लाख कित्ता अवितरित संस्थापकतर्फको हकप्रद शेयर रोक्का गरेको हो । बोर्डले अर्को सूचना जारी नभएसम्मका लागि विक्री प्रक्रिया स्थगित गर्न पुनः निर्देशन दिएसँगै स्थगित गरिएको जानकारी कम्पनी सचिव जीवन बस्नेतले दिएका छन् ।
कम्पनीले फागुन १ गतेदेखि १५ गतेसम्म दोस्रो चरणमा विक्री खुला गरिएको यो शेयरको विक्री प्रकृया फागुन १३ गतेदेखि रोक्का गरिएको थियो । यसर्थ फागुन १३ गतेसम्म प्राप्त गोप्य शिलबन्दी बोलपत्र फिर्ता गरिने जानकारी समेत सचिव बस्नेतले दिएका हुन् ।
यसका लागि सम्बन्धित बोलपत्रवालाहरुले कम्पनीले तोकेको ढाचामा निवेदन दिनुपर्ने सचिव बस्नेतको भनाइ छ । उनका अनुसार सक्कलै शिलबन्दी बोलपत्र फिर्ता गरिनेछ । बैंक भौचर आईपीएसमार्फत जम्मा गरेका बोलपत्रवालाहरुको हकमा रकम फिर्ताका लागि कम्पनीले तोकेको ढाँचामा आईपीएसको सक्कल बैंक भौचर स्टेटमेन्टमा राखि निवेदन दिनु पर्नेछ ।
बोलपत्रदाताहरुले निवेदनका साथमा बोलपत्र दर्ता गर्दा विक्री प्रबन्धक तथा संकलन केन्द्रले दिएको सक्कलै दर्ता रसिद, खोलिएको शिलबन्दी बोलपत्र, नागरिकता वा आफ्नो परिचय खुल्ने आधिकारिक कागजातको प्रतिलिपि समेत पेश गर्नुपर्ने कम्पनीको भनाइ छ ।
कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसेकेको उक्त शेयर विक्री खुला गरेको थियो । यो शेयरको मूल्य न्यूनतम प्रतिकित्ता रू. १०० तोकिएको थियो ।
कम्पनीले पहिलो चरणमा न्यूनतम एक करोड कित्ताको सीमाका कारण वितरण हुन नसकेको उक्त शेयर कम्पनीले नियमावली संशोधननै गरेर न्यूनतम १०० कित्ताको सीमा तय गरिएको हो ।
पहिलो चरणमा कम्पनीले न्यूनतम एक करोड कित्ताको सीमा राखी गत असोज ७ गतेदेखि १४ गतेसम्म यो शेयर लिलामीमा विक्री खुला गरेको थियो । कम्पनीले संस्थापकतर्फको उक्त शेयरसँगै सर्वसाधारण तर्फको ३२ लाख २९ हजार ७२४ कित्ता गरी कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता हकप्रद शेयर विक्री खुला गर्दा सर्वसाधारणतर्फको शेयर भने विक्री भएको थियो ।
हाल राष्ट्र बैंकको नियमनमा रहेको यस कम्पनीको यो शेयर विक्रीका लागि आगामी दिनमा कुनै निकास राष्ट्र बैंकले निकाल्ने विश्वास कम्पनीले गरेको छ । यो शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया