सानिमा जनरलले साढे ६ करोडले बढायो खुद बीमाशुल्क

सानिमा जनरलले साढे ६ करोडले बढायो खुद बीमाशुल्क


बैकिङ्ग समाचार । 

सानिमा जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

गत आवको यसै अवधिमा २ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले समीक्षा अवधिमा ६ करोड ६५ लाख रुपैयाँले वृद्धि गरेको हो।

चैत मसान्तसम्ममा कम्पनीले २ करोड ८९ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४२.२५ प्रतिशत धेरै हो। गत आवको चैतमा २ करोड ३ लाख ४९ हजार रुपैयाँ खुद नाफा थियो।

यस अवधिमा इन्स्योरेन्सले ३१ हजार ८७२ वटा बीमालेख जारी गरेकोमा ९९३ वटा नवीकरण भएका छन्। यसबाट कम्पनीले २६ करोड ३३ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले पुनर्बीमा कमिशनबाट ४ करोड ८३ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ९५ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको कम्पनीले ३० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गर्न बाँकी छ। यस पश्चात कम्पनीको पूँजी १ अर्ब कायम हुनेछ।

हाल कम्पनीले जगेडा कोषमा ३ करोड ७७ लाख रुपैयाँ र बीमा कोषमा ४ करोड ४१ लाख रुपैयाँ सञ्चित गरेको छ। गत आवको यसै अवसधिमा जगेडा कोषमा १ करोड ७५ लाख बीमा कोषमा २ करोड १७ लाख रुपैयाँ रहेको थियो।

कम्पनीले ६३२ वटा दाबी बापत ५ लाख ५७ हजार रुपैयाँ भुक्तानी गरेको छ भने ३५० दाबी बापत १० करोड ४९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।