यस्ता छन् लकडाउनमा सञ्चालन गर्न पाइने व्यवसाय, बैकिङ्ग  क्षेत्र पूर्णरुपमा खुल्ने 

यस्ता छन् लकडाउनमा सञ्चालन गर्न पाइने व्यवसाय, बैकिङ्ग  क्षेत्र पूर्णरुपमा खुल्ने 


बैकिङ्ग समाचार । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको छ।

सर्तसहित औषधिजन्य वस्तुको उत्पादन, विक्री वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्री वितरण, निर्माणजन्य (इँटा, गिट्टी, बालुवा, सिमेन्टजस्ता) सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्रिवितरण गर्न पाउने निर्णय गरेको छ।

सम्बन्धित स्थानीय तहमा गठन भएको समितिबाट अनुमति लिएर कृषि तथा पशुपंक्षी सम्बन्धी, खाद्यवस्तु र अन्य बाली लगाउने भित्र्याउने काम गर्न पाउने निर्णय गरेको छ।

यसैगरी फलफूल र दुग्धजन्य वस्तुको उत्पादन र विक्री वितरण गर्न पाउने, स्वास्थ्य सेवाका क्षेत्रहरु, भेटेनरी सञ्चालन गर्न पाइने छ। पाठ्यपुस्तक विक्री वितरण गर्ने पसल तथा ढुवानी गर्ने सवारीहरु जनक शिक्षा सामग्रीबाट अनुमति लिएर सञ्चालन गर्न पाउने निर्णय सरकारले गरेको छ।

उद्योग प्रतिष्ठान, विकास निर्माणका लागि आवश्यक कच्चा पदार्थ लगायत सामग्री ढुवानी गर्न पाउने निर्णय पनि सरकारले गरेको छ।

यस्तै राष्ट्रिय गौरबका आयोजनाहरु सञ्चालन गर्ने, जलविद्युत, खानेपानी, विमानस्थल निर्माणका काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ। त्यसका लागि सम्बन्धित निर्माण कम्पनीले दैनिक रुपमा श्रमिकहरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने, एकै ठाउँमा बास बस्ने व्यवस्था मिलाउने सर्त राखिएको छ।

यस्तै गिट्टी बालुवा उत्पादन र ढुवानी गर्न पाइने निर्णय पनि सरकारले गरेको छ। बैंक तथा वित्तीय संस्थाहरुले बढीमा एक तिहाइ कर्मचारीबाट सेवा प्रदान गर्न सक्ने निर्णय पनि सरकारले गरेको छ।

सार्वजनिक सेवाका क्षेत्रहरुमा एक चौथाई सवारीलाई मात्र पास उपलब्ध गराउने, सञ्चालनमा आउने विभिन्न उद्योग प्रतिष्ठानहरुले श्रमिकलाई छुट्टै स्थानमा बस्ने व्यवस्था मिलाएर काम गर्ने, स्थानीयसँग सम्पर्क नहुनेगरी खाजाको व्यवस्था गर्ने, त्यसको खर्च उद्योगहरुले व्यहोर्ने र कार्यस्थललाई नियमित स्यानिटाइजेसन गरी काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ।

यस्तै इन्टरनेट, वर्कसप लगायतका क्षेत्रहरूमा बढीमा ५ जना कामदार रहनेगरी सञ्चालन गर्न पाइने निर्णय भएको छ।

अन्तर्राष्ट्रिय सीमानाकाहरु जेठ १८ गतेसम्म बन्द राख्ने निर्णय सरकारले गरेको छ। सीमानाका खुला गरे पनि खाद्यान्न लगायत अत्यावश्यक सामग्री बोकेका सवारी भने सञ्चालन हुनेछन्। 

शैक्षिक संस्थाहरु, गैर खाद्यवस्तु विक्री गर्ने व्यवसायिक मल, सिनेमा घर, धार्मिक स्थल, होटल बार तथा रेष्टुरेण्ट, सैलुन लगायत अन्य मान्छेहरुको बढी भीड हुने क्षेत्रहरु अर्को सूचना जारी नभएका सम्मका लागि बन्द नै राख्ने निर्णय पनि गरेको छ।