इतिहासकै धेरै ऋण लिँदै अमेरिकाः  ३० खर्ब अमेरिकी डलर ऋण लिने

इतिहासकै धेरै ऋण लिँदै अमेरिकाः  ३० खर्ब अमेरिकी डलर ऋण लिने


एजेन्सी । 
कोरोनाका कारण समग्र अर्थतन्त्र नै प्रभावित भएपछि अमेरिकाले यो वर्षको दोस्रो त्रैमासिकमा ३० खर्ब अमेरिकी डलर ऋण लिने भएको छ ।

कोरोनाका कारण सरकारी स्रोतले सरकारी खर्च धान्न नसक्ने भएपछि अमेरिकाले ३० खर्ब डलर ऋण लिन लागेको हो । यो ऋण अमेरिकी इतिहासकै धेरै रहेको जनाइएको छ। यो सन् २००८ को आर्थिक मन्दीका बेला लिइएको सापटीभन्दा पाँच गुणा धेरै हो ।

ऋण रकमले कोरोना भाइरसको रोकथाम नियन्त्रण र राहतको खर्च धान्ने छ । अमेरिकाले सन् २०१९ मा १२ खर्ब ८० अर्ब अमेरिकी डलर ऋण लिएको थियो ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकाले स्वास्थ्य क्षेत्रमा खर्बौै रुपैयाँ खर्च गरिरहेको छ । अमेरिकाको अहिलेको राष्ट्रिय ऋण २५० खर्ब डलर छ ।

अमेरिकी सरकारले कोरोनाबाट ध्वस्त भएको अर्थतन्त्र उकास्न तथा नागरिको जीवनयापनका लागि कुल जीडीपीको १४ प्रतिशत रकम राहत स्वरुप खर्च गरिसकेको छ ।