स्रोतहरु परिचालन गरिन्छ र उत्पादनको क्षेत्रमा लगानी बढाइन्छः गर्भनर अधिकारी 

स्रोतहरु परिचालन गरिन्छ र उत्पादनको क्षेत्रमा लगानी बढाइन्छः गर्भनर अधिकारी 


बैकिङ्ग समाचार ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी वर्ष अर्थतन्त्रका लागि चुनौतीपूर्ण रहेको बताएका छन् । उनले दिनमा अर्थतन्त्रमा आउने संकुचनलाई ध्यानमा राखेर आगामी मौद्रिक नीति तय गरिने बताएका छन्।

मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा उनले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्व अर्थतन्त्रमा पार्ने प्रभावसँगै नेपालको अर्थतन्त्र पनि निकै चुनौतीपूर्ण रहने बताएका हुन्।

गभर्नर अधिकारीले विप्रेषण आप्रवाह कम हुने, पर्यटन आय शून्य हुने, वैदेशिक लगानीमा संकुचन आउने भएकाले अर्थतन्त्रमा चुनौती थपिएको बताए। उनले ‘लकडाउन’का कारण ऋण र निक्षेप बढ्न नसकेको एवं रेमिट्यान्स २० प्रतिशतसम्म घट्ने भएकाले केही चुनौती भने रहेको पनि बताए ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिले लिएका अधिकांश लक्ष्यहरु पूरा नहुने स्थिति आइसकेको बताउदै उनले अर्थतन्त्रलाई पूर्वअवस्थामा ल्याउने गरी मौद्रिक नीतिको तयारी गरिरहेको जानकारी दिँदै उनले व्यापार–व्यवसाय गर्न रकमको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । 

पाँच करोडभन्दा बढी कर्जा लिने ग्राहकहरुको अवस्था अध्ययन गरी विवरण तयार गर्न बैंकहरुलाई निर्देशन दिइएको समेत गभर्नर अधिकारीले बताए। समग्र अर्थतन्त्रमा परेको असर, बैंक तथा वित्तीय क्षेत्रमा परेको असर लगायतका विषयमा छुट्टाछुट्टै अध्ययन गरी राष्ट्र बैंकले दिने सुविधा तयार गर्न खोजिएको गभर्नर अधिकारीले जानकारी दिए।

वित्तीय क्षेत्रको स्थायित्वका लागि अर्थतन्त्रमा आउने संकुचनलाई ध्यान दिएर वित्तीय स्रोतहरुलाई परिचालन गर्ने र उत्पादनको क्षेत्रमा लगानी बढाउने र रोजगारी प्रवद्र्धन हुने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने सम्बन्धमा तयारी थालिएको समेत जानकारी दिए।