नेपाल इन्स्योरेन्सको पूँजीवृद्धिले इपिएसमा चाप, ११.२८ रुपैयाँले घट्यो

नेपाल इन्स्योरेन्सको पूँजीवृद्धिले इपिएसमा चाप, ११.२८ रुपैयाँले घट्यो


बैकिङ्ग समाचार ।

नेपाल इन्स्योरेन्सको पूँजीवृद्धिको असर कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (इपिएस) मा देखा परेको छ।

सोमबार सार्वजनिक वित्तीय विवरण अनुसार ६५ प्रतिशत हकप्रद र साढे ७ प्रतिशत बोनसबाट पूँजी वृद्धि गरेको यस कम्पनीको पूँजी ६१ करोड ७६ लाखबाट १ अर्ब ९ करोड ५५ लाख पुगेको छ।

उच्च पूँजीवृद्धिको चापका कारण कम्पनीको नाफा सामान्य मात्र बढ्दा वार्षिक प्रतिशेयर आम्दानीमा ११.२८ रुपैयाँको गिरावट आएको छ। गत आवको चैतमा वार्षिक २८.२० रहेको कम्पनीको इपिएस १६.३२ रुपैयाँमा संकुचित बनेको हो।

कम्पनीको जगेडा कोषमा ३४ करोड ५८ लाख रुपैयाँ, बीमा कोषमा ३६ करोड ४७ लाख रुपैयाँ सञ्चित छ ।

नेपाल इन्स्योरेन्स ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४३ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३८ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले ४ करोड ३४ लाख रुपैयाँले खुद बीमा शुल्क बढाएको हो ।

कम्पनीले यस अवधि सम्ममा १३ करोड ४० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिको तुलनामा खुद नाफा ३४ लाख ४८ हजार रुपैयाँले बढी हो । गत वर्ष कम्पनीले १३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै कम्पनीले पुर्नबीमा कमिशनबाट १२ करोड २६ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ५ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीले हालसम्म ८५ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । गत वर्षको यसै अवधिमा ८५ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ८६ पैसा र मुल्य आम्दानी अनुपात २१.२६ गुणा छ ।