बिजनेश हाउसहरु लगानीको लागि डराउन पर्दैनः बैकर्स संघ अध्यक्ष दाहाल

बिजनेश हाउसहरु लगानीको लागि डराउन पर्दैनः बैकर्स संघ अध्यक्ष दाहाल


बैकिङ्ग समाचार । 

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले १५ रुपैयाँ नाफा आर्जन गर्ने बैंक तथा वित्तीय संस्थासँग ४० रुपैयाँ कमाउने उद्योगीलाई राहत दिन बाध्य हुनु परेको गुनासो गरेका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था(आइक्यान) ले आयोजना गरेको वेवनारमा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरुले गरेको नाफा सबै पारदर्शी हुने गरेको र उनीहरुको नाफा घटेको समयमा ४० रुपैयाँ नाफा कमाउने उद्योगी व्यवसायीलाई पनि राहत दिँदा समस्या हुने बताए । उनले भने ‘उद्योगी, व्यवसायीहरुमा पनि बैंकको जस्तो पारदर्शिता चाहियो । अनी हामीलाई पनि राहत दिन मजा आउनेछ ।’

यो वर्ष नै ८ महिना १० दिनसम्म राम्रो व्यवसाय चलाएर नाफा कमाएका उद्योगी व्यवसायीहरु नै राहत चाहियो भने र माथिल्लो निकायसम्म पुगेको प्रति गुनासो गरेका छन् । उद्योगी व्यवसायीहरुको माथिल्लो तहमा पनि पहुँच हुने राहतको लागि माथिल्लो निकायसम्म पहलका लागि लागेको बताए ।

उनने भने ‘लकडाउनभन्दा अघिसम्म राम्रो नाफा गरेको उद्योगी व्यवसायीहरु समेत ब्याजदर घटाउनु पर्यो भन्दै हिँडेका छन्, राहत चाहिने हो भने साँच्चै समस्यामा परेकालाई दिन पाए हुने थियो । हामीले साना तथा मझौला उद्योगीलाई राहत दिने भनेका छौं । त्यसमा हाम्रो सदैव सहयोग हुनेछ ।’

उनले साना तथा मझौला उद्यमीलाई बेसरेटमा ऋण दिन तयार रहेको बताए । बेसरेटमा नै ऋण दिँदा बैंकलाई ०.२५ नोक्सान हुने पनि जानकारी गराए ।

अहिले बैंकहरुले जसरी पनि नाफा गरेका छन भन्ने सबैको बुझाई रहेको भन्दै त्यो बुझाई सच्याउन पनि आग्रह गरेका छन् । अहिले बैंकिङ क्षेत्रको नाफा घटेको र ७ वर्ष अघि २५ प्रतिशतको आरओइ अहिले १५ प्रतिशतमा झरेको समेत जानकारी गराए ।

उनले विजनेश हाउस बाँचे मात्रै सबै बाँच्ने सबै सबैलाई मिलेर जान पनि आग्रह गरेका छन् ।

पुस मसान्तसम्म बैंकहरुको रिटर्न अफ इक्विटी १५ प्रतिशतमा झरेको उनको भनाइ छ । उनले बैंकले बेसरेट घटाउने जानकारी गराउँदै मुद्दतिमा १० प्रतिशत ब्याज रहेको समयमा १५ प्रतिशत आरओई हुनु सामान्य नै भएको बताए ।

उनले बैंकिङ क्षेत्रमा रहेको कर्मचारीको खर्च घटाउनको लागि प्रविधिलाई बढी जोड दिने बताए । उनले भने, ‘अब हामी डिजिटलमा बढी फोकस भएका छौं । अहिले धेरै बैंकहरुको फरक-फरक सफ्टवेयर छ, जसको कारण नेपाली पैसा विदेश जाने गरेको छ । अब हामी सबैलाई एकीकृत गर्नेतर्फ लागेका छौ ।’

उनका अनुसार एकै ठाँउमा धेरै बैंकको एटीएम मेसिन रहेको, एकै ठाँउमा धेरै बैंकको शाखा रहेका भन्दै यस्तो खर्चलाई कसरी घटाउने भन्नेमा पनि काम भइरहेको बताए ।

उनले अहिले बैंकिङ क्षेत्रमा ३६ खर्ब ७० अर्ब निक्षेप, ३२ खर्ब ५० अर्ब ऋणमा लगानी रहेको छ रहेको जानकारी गराए । अहिले ७ खर्ब ५० अर्ब लिक्वीड फण्ड हुनुपर्नेमा ८ खर्ब रहेको जानकारी गराए । यो अवस्थामा बिजनेश हाउसहरु लगानीको लागि डराउन नपर्ने बताए ।

उनले छलफलमा यो वर्ष गत वर्षको तुलनामा विप्रेषण २० प्रतिशतले घटने बताए । चैत महिनामा २८ अर्बको हाराहारीमा मात्रै विप्रेषण आएको र गत वर्षका सोही अवधिमा ७१ अर्ब विप्रेषण आएको जानकारी गराए । उनले गत वर्ष ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ विप्रेषण आएकोमा यो वर्ष ७ खर्ब १० अर्बमा नै सीमित हुने बताए । यसले ब्यालेन्स अफ पेमेन्टमा थोरै नकारात्म असर पर्ने बताए ।

उनले एनआरएन मन्त्रालय खोलेर विदेशबाट आउने र उनीहरुले ल्याउने सीपलाई प्रयोगमा ल्याउन सुझाव दिए । विदेशका कृषि, विकास निर्माणमा गरेको कामलाई नेपालमा प्रयोगमा ल्याउन आग्रह गरे ।

उनले नेपाल राष्ट्र बैंकका कर्मचारीको भन्दा बैंक तथा वित्तीय संस्था कर्मचारीको तलब कम रहेको जानकारी गराए । बैंकहरु अझै पनि कर्मचारीको खर्च घटाउनेतर्फ लागेको जानकारी गराए ।