राष्ट्र उत्थान लघुवित्तको आईपीओ भोलि (बिहीबार) बाँडफाँट हुने

राष्ट्र उत्थान लघुवित्तको आईपीओ भोलि (बिहीबार) बाँडफाँट हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) भोलि फागुन १२ गते बाँडफाँट हुने भएको छ । लघुवित्तले आज प्रि अलटमेन्ट सकाएर भोलि बाँडफाँट गर्ने भएको हो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले भोली बिहीबार ३ बजेपछि शेयर बाँडफाँट हुने जनाएको छ ।

लघुवित्तले फागुन ४ गतेदेखि ८ गतेसम्म जारी पूँजी २६ करोड रुपैयाँको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत १३ हजार कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ७ लाख ९४ हजार ५०० कित्ता शेयर सर्वसाधारणलाई वितरण हुनेछ ।

पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आईपीओमा २६ लाख २६ हजार ९० जना आवेदकबाट ३ अर्ब ४ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता शेयरको लागि आवेदन परेको छ ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ७९ हजार ४५० जना भाग्यमानी आवेदकले मात्रै शेयर पाउनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २६ करोड पुग्नेछ ।