थर्मल गन कालोबजारी गर्ने सुलभ अग्रवाल साढे २५ लाख धरौटीमा रिहा

थर्मल गन कालोबजारी गर्ने सुलभ अग्रवाल साढे २५ लाख धरौटीमा रिहा


बैकिङ्ग समाचार ।
कोरोना भाइरसको महामारीका बेला थर्मल गन कालोबजारी गरेको अभियोग लागेका व्यवसायी सुलभ अग्रवाल २५ लाख ५० हजार धरौटीमा रिहा भएका छन्।

बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले ले २५ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो। उद्योगी अग्रवाल २५ दिनको हिरासत बसाईपछि रिहा भएका छन् ।

बुधबार अग्रवालको पक्षबाट वरिष्ठ अधिवक्ता लव मैनाली, कृष्ण सापकोटा र पर्शुराम कोइरालाले बहस गरेका थिए। बिहीबार अधिवक्ताहरु रमणकुमार कर्ण, ओमकुमार दाहाल र कमलेश सुवेदीले बहस गरे। अन्ततः अदालतले उनलाई धरौटीमा रिहा हुने आदेश दिएको हो ।

जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए। तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनलाई पक्राउ गरिएको थियो।

उनको नीलो नम्बर प्लेटको गाडीबाट ६६ थान थर्मल गन बरामद भएको थियो । सरकारी वकिल कार्यालयले १ वर्ष ६ महिनासम्म कैद सजाय र १० लाख जरिवाना माग गर्दै मंगलबार मुद्दा दर्ता गरेको थियो । उनलाई कालोबजारी ऐनअन्तर्गत १ वर्षसम्म कैद र सार्वजनिक पदाधिकारी भएकाले अर्को ६ महिना सजाय थपको माग गरिएको थियो।

चीनबाट १२ सय थान गन ल्याएको अनुसन्धानका क्रममा भेटिए पनि प्रहरीले अग्रवालले १४५ थान मात्रै थर्मल गन कालोबजारी गरेको बेचेको पुष्टि गरेको थियो ।