एशियाली विकास बैंकसँग अर्थमन्त्री खतिवडाले सहयोग मागे

एशियाली विकास बैंकसँग अर्थमन्त्री खतिवडाले सहयोग मागे


बैकिङ्ग समाचार ।

एशियाली विकास बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पार्ने प्रभाव कम गर्न २५० मिलियन अमेरिकी डलर (३० अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायता प्रदान गर्ने भएको छ । साथै तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

अर्थमन्त्री डा। युवराज खतिवडा र एशियाली विकास बैकका अध्यक्ष मासाचुगु आसाकावा बीच कोभिड–१९ का कारण परेको असर र त्यसमा बैंकले गर्न सक्ने सहयोग बारे बुधबार भएको टेलिफोन वार्ताका क्रममा बैंकले सो प्रतिवद्धता जनाएको हो।

सो वार्तामा अर्थमन्त्री र बैंकका अध्यक्ष बीच कोभिड–१९ ले अर्थतन्त्रमा पार्ने प्रभाव, एशियाली विकास बैकले नेपाललाई गरिरहेको सहयोग र आगामी दिनमा नेपालको विकासका प्राथमिकताका क्षेत्रमा बैंकले गर्न सक्ने थप सहयोगका विषयमा छलफल भएको अर्थमन्त्रालयले जनाएको छ।

अर्थमन्त्रीले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेपालले लिएको रणनीतिबाट ठूलो संक्रमण हुन नपाएको जानकारी गराए । उनले एशियाली विकास बैंक नेपालको मुख्य विकास साझेदार रहेको बतउदै बैंकले ऊर्जा, यातायात, खानेपानी र शहरी विकास लगायत ग्रामीण उद्यम क्षेत्रमा गरेको सहयोगलाई विशेष प्रशंसा समेत गरे ।

साथै, नेपालले अंगिकार गरेको संघीय प्रणालीको प्रतिफल आम नागरिकले पाउन सक्ने तुल्याउनका लागि संघीय संरचनाका सबै संस्थाहरु बलियो बनाउनुका अतिरिक्त स्थानीय पूर्वाधार विकासमा लगानी बढाउनु पर्ने कुरामा समेत जोड दिए।

अर्थमन्त्रीले कोभिड–१९ बाट स्वास्थ्य सेवामा सार्वजनिक क्षेत्रको भूमिका प्रभावकारी रहनुपर्ने तथ्य उजागर भएको बताउदै आगामी दिनमा नेपालको स्वास्थ्य पूर्वाधार विकासमा बैंकको थप सहयोगको अपेक्षा गरे। 

उनले कोरोना संक्रमणबाट वैदेशिक रोजगारीका अवसरहरु खुम्चिदै जाँदा युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन आधुनिक एवम् व्यवसायिक कृषि र स्थानीय पूर्वाधार एवम् ग्रामीण वित्त व्यवस्था विस्तारमा लगानी गर्नुपर्ने आवश्यकता रहेकोले यी क्षेत्रमा सहायता बढाउन एशियाली विकास बैंकलाई आग्रह गरे।

एशियाली विकास बैंकका अध्यक्ष आसाकावाले कोभिड –१९ को नियन्त्रणमा नेपालले चालेका कदमहरुको प्रंशसा गर्दै कोभिड –१९ का कारण सिर्जना भएको चुनौतीपूर्ण वर्तमान परिस्थितिलाई सम्बोधन गर्नका लागि बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण एवम् निजी क्षेत्रका लागि उपलब्ध स्रोतसाधन समेतका माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्रालयले बताएको छ।।

उनले नेपालको आर्थिक सामाजिक क्षेत्रको विकासका लागि बैंकले सहयोगलाई बढोत्तरी गर्दै जाने बताउँदै आगामी दिनमा बैंकले ऊर्जा, यातायात, नागरिक उड्डयन, संघीयतामा सेवाप्रवाह जस्ता क्षेत्रमा थप लगानी गर्ने बारेमा पनि जानकारी गराए।