बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज फागुन ८ गते आइतबार अन्तिम दिन रहेको छ । फागुन ४ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुला भएको आईपीओमा आज कार्यालय समयभित्र आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले मेरो सेयर मोबाइल एप, वेवसाइटका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म खरीदका लागि आवेदन दिन सकिन्छ ।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।बाँकी रहेको ७ लाख ९४ हजार ५ सय कित्ता साधारण सेयरका लागि सर्वसाधारणले माग गर्न सक्नेछन् ।
रेटिङ एजेन्सी इक्रा नेपालले लघुवित्तको साधारण सेयर लाई ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यो रेटिङ प्राप्त संस्था समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया