कोरोना प्रभावित ऋणिलाई २ प्रतिशत ब्याज छुट दिन राष्ट्र बैंकको निर्देशन

कोरोना प्रभावित ऋणिलाई २ प्रतिशत ब्याज छुट दिन राष्ट्र बैंकको निर्देशन


बैकिङ्ग समाचार ।

नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रका ऋणिहरुको ब्याजदरमा २ प्रतिशत छुट दिन निर्देशन दिएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका लागि मंगलबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुका लागि ब्याजमा २ प्रतिशत छुट दिन निर्देशन दिएको हो । चैत मसान्तसम्मको कायम ब्याजदरमा चौथो त्रैमास अर्थात वैशाख, जेठ र असारको ब्याजमा छुट दिन राष्ट्र बैंकले भनेको हो ।

राष्ट्र बैंकको ६५ औं वार्षिकोत्सवका अवसरमा लिखित मन्तव्य सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले चौथो त्रैमासको ब्याजमा सहुलियत दिने घोषणा गरेका थिए । 

सोहि घोषणा अनुसार राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गरेको हो । तर यो सहुलियत सबै ऋणिहरुले भने पाउने छैनन् । राष्ट्र बैंकका अनुसार यो सहुलियत पाउन कोरोनाबाटप्रभावित भएकै हुनु पर्नेछ । 

होटल, रेष्टुरेन्ट, ट्रेकिङ लगायतका पर्यटन क्षेत्र, हवाई उड्ययन तथा सार्वजनिक यातायात क्षेत्र र निर्यात उद्योगहरुले यो सुविधा पाउने राष्ट्र बैंकले बताएको छ । कोरोना प्रभावित क्षेत्रहरुका लागि कर्जा लगानी गरेका लघुवित्त वित्तीय संस्थाहरुले भने ३ प्रतिशत ब्याज छुट दिनु पर्ने भएको छ । 

राष्ट्र बैंकले लघुवित्तहरुलाई ३ प्रतिशत ब्याज छुट दिन निर्देशन दिएको हो । होलसेल कर्जा लगानी गर्ने लघुवित्तहरुको हकमा भने २ प्रतिशतमात्रै छुट दिन राष्ट्र बैंकले भनेको छ ।

खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, दुरसञ्चार, साबुन तथा केमिकल उद्योगले यो सुविधा पाउने छैनन् ।

यसैगरी मेडिलक पसल, सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनी, सुर्तीजन्य पदार्थ र मदिरा उद्योगले समेत यो सुविधा नपाउने राष्ट्र बैंकले जनाएको छ ।