लकडाउनको बिदामा बसेका कसैको पनि तलब काट्न नपाइने, सार्वजनिक बिदा मानिने

लकडाउनको बिदामा बसेका कसैको पनि तलब काट्न नपाइने, सार्वजनिक बिदा मानिने


बैकिङ्ग समाचार । 

सरकारले लकडाउनको अवधिमा कार्यालय जानु नपरेका सरकारी कर्मचारीलाई सार्वजनिक बिदा सरह तलब सुविधा दिने भएको छ। लकडाउनमा कार्यालयमा उपस्थित हुनु नपर्ने कर्मचारीको गयललाई सार्वजनिक बिदा कायम गरेर तलब दिइने भएको हो। 

यो निर्णय सरकारी कार्यालय, निकाय, वा उद्योगमा कार्यरत कर्मचारी तथा श्रमिकको हकमा लागू हुनेछ। बिदा कायम भएको अवधिको तलब र भत्ता यथावत रहनेछ। 

निजी क्षेत्रलाई भने यो व्यवस्था लागू हुने छैन। वैशाख २ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार सोमबार राजपत्रमा सूचना प्रकाशित भएको छ। 

प्रकाशित सूचनामा भनिएको छ, ‘नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम मिति २०७६/१२/९ र तत्पश्चात विभिन्न मितिमा जारी गरेको आदेश बमोजिम सम्पूर्ण सरकारी कार्यालय, निकाय, वा उद्योगले बिदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाई आएको तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने निर्णय गरेकाले यो सूचना प्रकाशन गरिएको छ।’

गृहसचिव महेश्वर न्यौपानेका तर्फबाट सोमबार सूचना प्रकाशित भएको छ।