जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आज ४ बजे बाँडफाँड हुँदै

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आज ४ बजे बाँडफाँड हुँदै


बैंकिङ्ग समाचार, काठमाडौं ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आइतबार ४ बजे बाँडफाँड हुने भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार बेलुका ४ बजे आईपीओ बाँडफाँडको तयारी गरिएको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार जाल्पा लघुवित्तको आईपीओ ४८ हजार ७९० जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले हात पार्नेछन् । बाँकी २६ लाख बढीको हात खाली हुनेछ । कम्पनीले माघ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणबाट ४ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको सेयर खरीदका लागि आह्वान गरेको थियो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिन मंगलबार साँझ पाँच बजेसम्ममा सर्वसाधारणबाट हालसम्मकै उच्च २६ लाख ५९ हजार ५४० वटा आवेदन परेको थियो ।

उल्लेखित संख्याबाट ३ अर्ब २५ करोड २० लाख ५८ हजार रुपैयाँको सेयर खररीका लागि माग आवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग भएको रकमको ६६.६५ गुणा बढी हो । आईपीओ लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था थियो ।

लघुवित्तले शुक्रबारदेखि कुल ५ लाख २२ हजार कित्ता सेयर निष्काशन निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता लघुवित्तका कर्मचारीहरुलाई तथा सर्वसाधारणमा जारी हुने सेयरको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयर खरीदका लागि लगानीकर्ताबाट आवेदन मागिएको थियो ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड पुग्नेछ ।