फेसबुकद्धारा भारतीय रिलायन्स जियोमा ५.७ अर्ब डलर लगानी

फेसबुकद्धारा भारतीय रिलायन्स जियोमा ५.७ अर्ब डलर लगानी


एजेन्सी,

सामाजिक सञ्जाल फेसबुकले भारतको टेलिकम कम्पनी रिलायन्स जियोमा ५.७ अर्ब डलर लगानी गरेको छ।

फेसबुकले जियोको ९.९९ प्रतिशत शेयर किन्नका लागि ५.७ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको हो। बुधबार शेयर खरीद सम्बन्धि उक्त सम्झौता भएको छ।

विश्वभर कोरोनाको महामारी र लकडाउनको अवस्था चलिरहँदा सोसल मिडिया कम्पनी फेसबुकले भारतको टेलिकम कम्पनीमा सबैभन्दा धेरै लगानी गरेको हो।

रिलायन्स जियोमा रहेको अन्य विद्यमान शेयरधनी कोहीसँग पनि यो अनुपातमा हिस्सेदारी छैन। यससँगै फेसबुक रिलायन्समा लगानी गर्ने सबैभन्दा ठूलो शेयरहोल्डर समेत बनेको छ ।

मार्क जूकरबर्गले फेसबुकमा लेखेका छन् ‘हामी रिलायन्स जियो प्लेटफर्ममा साथै मिलेर काम गरिरहेका छौं। भारत एउटा ठूलो डिजिटल परिवर्तनको समयमा गुज्रिरहेको छ । यस परिवर्तनलाई रिलायन्स जियो जस्ता प्लेटफर्मले करोडौं भारतीय मानिसहरु वा साना व्यवसायहरुलाई डिजिटल मोडद्धारा जोडेको छ । वर्तमान अवस्थामा यो निकै महत्वपूर्ण हो । ‘

उता रिलायन्सले पनि सानो हिस्साको लागि ठूलो टेक कम्पनीको यो अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी भएको बताएको छ ।

भारतीय बजारमा हरेक ५ स्मार्टफोन यूजर्समध्ये ३ यूजर्स जियो नेटवर्कमा छन् भने जियोले भारतको ६ करोड साना ठूला व्यवसाय, १२ करोड किसानहरु र ३ करोड साना व्यापारीहरु र लाखौं साना उद्यमहरुमा ध्यान केन्द्रित गर्ने बताएको छ ।