सहुलीयत व्याजको कर्जाः व्यवसायीक कृषिमा ४७ अर्ब १६ करोड ३ लाख लगानी

सहुलीयत व्याजको कर्जाः व्यवसायीक कृषिमा ४७ अर्ब १६ करोड ३ लाख लगानी


बैकिङ्ग समाचार ।  

बैंक तथा वित्तीय संस्थाहरुबाट गत फागुन मसान्तसम्ममा सहुलियतपूर्ण कर्जाअन्तर्गत सबैभन्दा धेरै कर्जा प्रवाह व्यावसायिक कृषि तथा पशुपालनमा भएको देखिएको छ । 

यस शीर्षक अन्तर्गत २२ हजार तीन सय २४ जनाले ४७ अर्ब १६ करोड तीन लाख ८० हजार रुपैयाँ कर्जा लिएका छन् । कुल सहुलीयततर्फ भने ४९ अर्ब ४७ करोड ३८ लाख ३० हजार रुपैयाँ प्रवाह भएको छ ।

 नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, कुल २६ हजार एक सय चार जनाले उक्त व्याज अनुदानको कर्जा लिएका हुन् । 

सरकारले सुरुमा व्याज अनुदानमा कर्जा प्रदान गर्ने गरी सात शीर्षकको घोषणा गरेकोमा हालै दुई शीर्षक थपेर विभिन्न नौ शीर्षकमा यस्तो कर्जा दिने व्यवस्था गरेको छ । पछि थपिएका कपडा उद्योग र व्यावसायिक तालिम शीर्षकमा कर्जा प्रवाह भएको छैन ।

महिला उद्यमशीलता कर्जा तीन हजार एक सय ४८ जनाले दुई अर्ब दुई करोड ५७ लाख ६० हजार रुपैयाँ लिएका छन् । शिक्षित युवा स्वरोजगारतर्फ जम्मा ५० जनाले दुई करोड ५६ लाख ९० हजार रुपैयाँ कर्जा लिएका छन् । उच्च र प्राविधिक शिक्षाका लागि सबैभन्दा थोरै एक करोड ७६ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह भएको छ । ७४ जनाले उक्त शीर्षकमा कर्जा लिएका छन् ।

त्यस्तै, दलित समुदाय व्यावसाय विकास शीर्षकमा १९२ जनाले १० करोड पाँच लाख ५० हजार रुपैयाँ कर्जा लिएका छन् भने विदेशबाट फर्किएका १४४ जना युवाले नौ करोड ४६ लाख ३० हजार रुपैयाँ प्रोजेक्ट लोन लिएका छन् । 

त्यस्तै, १७२ जना भूकम्पपीडितले चार करोड ५१ लाख ८० हजार रुपैयाँ आवास कर्जा लिएका छन् । 

बैंकहरुले यस्तो ऋण आधार दरमा २ प्रतिशत प्रिमियम लिएर मात्र दिन पाउँछन् । मानौँ कसैको आधार दर १० प्रतिशत छ भने उसले १२ प्रतिशतसम्म मात्र ब्याज लिन पाउँछ । जसमध्ये, सरकारले ५ प्रतिशत तिरिदिने छ । यसो हुँदा ऋणले ७ प्रतिशत मात्रै ब्याज तिरे पुग्छ।