घरमै बसेर कोरोनाको बीमा गर्न सकिने, यस्तो छ बीमा सुविधा

घरमै बसेर कोरोनाको बीमा गर्न सकिने, यस्तो छ बीमा सुविधा


बैकिङ्ग समाचार ।

 बीमा समितिले कोरोना भाइरससम्बन्धी बीमालेख आइतबारदेखि औपचारिक रूपमा जारी गरेको छ । समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले कोरोना भाइरस रोग सम्बन्धी पहिलो बीमा लेख खरिद गरी यसको औपचारिक सुरुवात गर्नुभएको हो । सानो रकमबाट भए पनि संक्रमणमा परेका व्यक्तिलाई आर्थिक सहयोग होस् भन्ने उद्देश्यले बिमा लेख जारी गरिएको समितिको भनाई छ ।

बीमा सुविधा के-के छन् ?

यसका लागि नेपाली नागरिक, परिवार एवं संस्थाले व्यक्तिगत अथवा सामूहिक बीमा गर्न सक्ने व्यवस्था छ । पत्र सहित आवेदन दिँदा सहुलियत पाउँनेछन् । यसमा बिमा पोलिसी खरिद गरेको १५ दिनपछि एक वर्षसम्म कोरोना भाइरस संक्रमण भएको प्रमाणित भएमा बीमा दाबी गर्न सकिने पोलीसी रहेको छ । तर बिमा गरेको दिनबाट १४ दिन भित्रमा निजको मृत्यु भएमा भने भुक्तानी पाईदैन । यो सबैभन्दा सजिलो बीमा पोलिसी हो । यसका लागि बिमा कम्पनीहरुको अनलाइन एप अथवा बिमा कम्पनीमा फोन गरेर यस सुबिधा लिन सकिन्छ ।
कसरी गर्ने बीमा ?

तर इन्टरनेटको सुविधा नभएको ठाउँमा निर्जीवन बीमा कम्पनीहरूले काम गर्दै आएका कृषि बिमा तथा घुम्ती बिमामार्फत बिमा बिक्री गर्ने व्यवस्था मिलाइएको छ । यसमा पहिलो बिमा लेख एक लाख रुपैयाँको रहेको छ । यस पोलिसी खरिद गर्नका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ लाग्नेछ । र परिवार वा संस्थागत रूपमा बिमा गर्ने हो भने प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्नेछ । यस्तै, दोस्रो बिमालेख ५० हजार रुपैयाँको रहेको जनाइएको छ । यस बीमा लेख खरिद गर्न प्रतिव्यक्ति पाँच सय रुपैयाँ र परिवार वा संस्थागत रूपमा बिमा गर्दा प्रतिव्यक्ति तीन सय रुपैयाँ लाग्ने छ ।

दावी भुक्तानी 

दाबी भुक्तानीका लागि सरकारद्धारा मान्यताप्राप्त परीक्षण केन्द्रमा गई परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएमा उक्त व्यक्तीले दावी गर्न पाउने व्यवस्था छ । उक्त परीक्षण रीपोर्ट इमेल मार्फत पेस गराएर अथवा फोन बाट सिधै सम्पर्क गरी दाबी गर्न सकिनेछ ।