बैंकहरुलाई नाफामा केन्द्रीत नभई सेवा प्रदान गर्न अर्थमन्त्रीको आग्रह

बैंकहरुलाई नाफामा केन्द्रीत नभई सेवा प्रदान गर्न अर्थमन्त्रीको आग्रह


बैकिङ्ग समाचार । 
विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरससंग लड्नका लागि बैंकिङ क्षेत्रले नाफा कम गरेर सहयोग गर्न अर्थमन्त्री डा।युवराज खतिवडाले अनुरोध गरेका छन् । अहिलेको समयमा धेरै नाफा नलिइ ब्यावसायिक उत्थानका लागि लाग्न उनले आग्रह गरेका हुन ।

“बैंक वित्तीय संस्थाहरूलाई अहिले धेरै नाफा कमाउने बेला हैन,” अर्थमन्त्री खतिवडाले भने,“उनीहरूले नगद प्रवाहलाई सजिलो पार्दिने र कर्जा लिने ग्राहकहरूलाई केही समय साँवाब्याज लिने कुरा पर सार्ने हो ।” यो संकटका समय सहज हुदै गएपछि अर्थतन्त्रलाइ पुन आफ्नो लयमा फर्काउनका लागि आफ्नो पुँजी लागतको माध्यमबाट धेरै नाफा नलिई व्यवसायिक उत्थानमा लाग्न भनेको उनले बताए ।

राहतका लागि हाम्रो प्रयास कायम रहेको बताउदै सरकारको क्षमता पनि सीमित छ भन्ने कुरा सबैले बुझ्नुपर्ने सुझाए । देशको राजस्वको मुख्य स्रोत आयात भएको हुनाले अहिलेको समयमा त्यो खुम्चिएको छ । चैत महिनासम्मको तथ्यांकमै आयात ४ प्रतिशतले घटेको छ । हाम्रो राजस्वको वृद्धि लक्ष्यको समेत धेरै तल रहेको उनले बताए ।

अहिलेको जटिल अवस्थामा आन्तरिक स्रोत परिचालित गर्नु पर्छ । व्यवसायीहरूले भएका कोषहरूको परिचालन गरौँ, सरकारको ट्रेजरीमा पैसा छ भने त्यसलाई पनि प्रयोग गरौँ । तर, अहिले हाम्रो राजश्वको स्रोत कम भएको र कोरोनाका कारण खर्चको आवश्यकता बढेकाले सरकारको ट्रेजरी सहज अवस्थामा नरहेका जानकारी उनले दिए ।

अहिले कोरोनाले दुईवटा विषयमा अवसर सिर्जना गरेको छ । ईगभर्नेन्स, ईकमर्स, ईबिजनेसका लागि सुवर्ण अवसर उपलब्ध भएको उनको भनाइ छ । पसलहरूले समान ई–कमर्सको माध्यमबाट परिचालन गर्न थालेको उनले बताए ।

अहिले बैंकिङ र भन्सारमा पनि बढी भन्दा बढी इलेक्ट्रोनिक माध्यमबाट काम गर्ने र अहिले ई–डकुमेन्टका आधारमा भन्सार जाँचपासको व्यवस्था गरेको समेत उनले जनाकारी दिए । सहज अवस्थामा वास्तविक कागजातहरू दिन सकिने गरी व्यवस्था गर्न भनिएको समेत उनले बताए ।
सरकारले रिकभरीको प्लान बनाइरहेको बताउदै उनले बिजनेस रिकभरको प्लान बनाउँदा प्रतिवद्धता भएका लगानी छिटो ल्याउने र नयाँ लगानीलाई छिटो स्वीकृति दिने तथा हाम्रा लगानी भएका आयोजना कार्यान्वयनमा तीव्रता दिनेसहित समस्याहरू छिटोभन्दा छिटो समाधान गर्ने स्थिति बनाउने योजना रहेको बताए ।