५ अर्ब २० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

५ अर्ब २० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


बैकिङ्ग समाचार । 

नेपाल राष्ट्र बैंकले सोमबार ५ अर्ब २० करोडको सरकारी ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १८२ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

कोरोना भाइरसको असरका कारण आर्थिक गतिविधि ठप्प भएपछि सरकारले संकटसँग लड्न तथा अर्थतन्त्रलाई चलायमान बनाइराख्न आन्तरिक ऋण उठाउन जोड दिएको छ।

साथै राहतको कार्यक्रम समेत ल्याउनु परेको अवस्थामा सरकारलाई पूँजी आवश्यक भएपछि छोटो अवधिको ऋणपत्र जारी गर्ने भएको हो ।

केन्द्रीय बैंकले ९१ दिने र १८२ दिने गरी २ प्रकृतिका ऋणपत्रको नविकरण गर्न लागेको हो । पहिलो सरकारी ऋणपत्र ९१ दिनमा परिपक्क हुन्छ भने दोस्रो १८२ दिनमा परिपक्क हुने केन्द्रीय बैंकले जनाएको छ ।

२० करोड रुपैयाँ बरावरको ९१ दिनको र ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्ने भएको हो । सो ऋणपत्रको व्याजदर भने बोलकबोलमार्फत निर्धारण हुने केन्द्रीय बैंकले जनाएको छ।

यसअघि चैत २५ गते केन्द्रीय बैंक निस्कासन गरेको ९१ दिने ट्रेजरी बिल्सको औसत व्याजदर १.५ प्रतिशत रहेको थियो । त्यसैगरी गत चैत ३० गते निस्कासन १८२ दिने ट्रेजरी बिल्सको ४.१५४ प्रतिशत कायम भएको थियो ।

वैशाख ९ गते ९मंगलबार० जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार अपराह्न ३ बजे बोलकबोल हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।