लकडाउनले दुई अर्ब बढीको दूध नोक्सान

लकडाउनले दुई अर्ब बढीको दूध नोक्सान


बैकिङ्ग समाचार ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले गरेको लकडाउनका कारण दूध बिक्री नहुँदा करिब दुई अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको भन्दै तत्काल राहत कार्यक्रम घोषणा गर्न नेपाल डेरी एसोसिएसनले माग गरेको छ ।

एसोसिएसनले मंगलबार सातै प्रदेशका प्रदेश अध्यक्षहरुसँग भिडियो कन्फ्रेन्स गरी लकडाउनका कारण कुल उत्पादनको ३० प्रतिशत दूध मात्र बिक्री हुन सकेको र देशभरका डेरीमा पाँच अर्ब रुपैयाँ बराबरको सामान स्टक रहेकाले अब कुनै पनि डेरीमा सामान स्टोर गर्न सक्ने अवस्था नरहेको ठहर गरेको छ ।

‘किसानको भुक्तानी दिन, कर्मचारीको तलब दिन र घरभाडा दिन समस्या भइसक्यो,’ अध्यक्ष राधाकृष्ण सापकोटाले भने, ‘दूधको उत्पादनदेखि बजारसम्मको चक्र लामो भएकोले कोरोना भाइरस संक्रमणको उच्च सम्भावना हुन्छ, त्यसैले सरकारले तत्काल उचित कदम चालोस् ।’

सरकारले बेलैमा उचित राहतको घोषणा नगरे धेरै उद्योग र किसान पेशाबाट पलायन हुने खतरा औंल्याउँदै अध्यक्ष सापकोटाले शून्य ब्याजदरमा ऋण, भ्याट कर छुट, किसानलाई तत्काल पशु दानाको ब्यवस्था, दूध खेर जाँदा त्यसको उचित क्षतिपुर्ति र बागमती प्रदेश सरकारले जस्तै राहत प्याकेजमा आधा केजी घ्यु समावेश गर्न अन्य प्रदेशसँग माग गरे ।

नेपालको कुल गार्हस्थ उत्पादनमा ९ प्रतिशत योगदान दुग्ध क्षेत्रको रहेको र यो क्षेत्रमा पाँच लाख कृषक परिवार आवद्घ रहेको एसोसिएसनका महासचिव प्रल्हाद दाहालले बताए । ३० हजार भन्दा बढीले उद्योगस्तरमा प्रत्यक्ष रोजगारी पाएका र वार्षिक एक अर्ब भन्दा बढी राजश्व राज्यलाई आम्दानी हुने दुग्ध क्षेत्रमा २५ अर्व भन्दा बढी लगानी उद्योगस्तरमा रहेको उनको भनाइ छ ।

नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेकामा औपचारिक क्षेत्रमा १७ प्रतिशत र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत खपत हुने गरेको छ भने कृषक स्वयंले ५० प्रतिशत उपभोग गर्ने गरेको डेरी एसोसिएसनको तथ्यांक छ ।