भारतमा थप दुई हप्ता लकडाउन लम्ब्याउने, मोदीले मङ्गलबार सम्वोधन गर्ने

भारतमा थप दुई हप्ता लकडाउन लम्ब्याउने, मोदीले मङ्गलबार सम्वोधन गर्ने


बैकिङ्ग समाचार  ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार राष्ट्रका नाममा सम्वोधन गर्ने भएका छन् ।

सरकारले लागु गरेको २१ दिने देशव्यापी लकडाउनको अन्तिम दिन भएकाले उनले मङ्गलबार सम्वोधन गर्न लागेका हुन। प्रधानमन्त्री मोदीले स्थानीय समय अनुसार मङ्गलबार विहान १० बजे सम्वोधन गर्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

सम्वोधनका क्रममा प्रधानमन्त्री मोदीले लकडाउनको पालना गरिदिएकोमा आम नागरिकलाई धन्यवाद दिदै थप दुई हप्ता लम्याउने घोषणा गर्नुहुने अपेक्षा गरिएको छ ।

लकडाउनको थपिएको अवधिमा केही आर्थिक कृयाकलापलाई भने खुकुलो पारिने अधिकारीहरुले जानकारी दिएका छन् ।

“प्रधानमन्त्री नरेन्द्र मोदीले १४ अप्रिलका दिन विहान १० बजे राष्ट्रका नाममा सम्वोधन गर्नुहुने भएको छ,” प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ ।

अधिकांश मुख्यमन्त्रीहरुले पनि लकडाउनको अवधि बढाउनु पर्ने सुझाव दिएकाले त्यस कुरालाई मध्यनजर गरिने कार्यालयका अधिकारीहरुको भनाई छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सामाजिक दुरी कायम राख्नु नै मुख्य उपाय भएकाले लकडाउनको थप आवश्यकता रहेको ठानिएको छ ।

मुख्यमन्त्रीहरुसँगको गत शनिबारको भिडियो बैठकमा लकडाउनलाई लम्व्याउनु पर्नेमा सवैको एक मत रहेको जनाइएको छ ।
भारतका केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार देशभरी कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३०८ पुगेको छ । त्यसैगरी सङ्क्रमित हुनेको सङ्ख्या नौ हजार १५२ पुगेको पनि मन्त्रालयले जनाएको छ ।