भारतमा लकडाउन थपिने, शेयर बजार घट्यो 

भारतमा लकडाउन थपिने, शेयर बजार घट्यो 


एजेन्सी । 

भारतीय शेयर बजारका लागि पनि राहत आउनसक्ने अपेक्षामा विगतका केही दिन सकारात्मक रहेको भारतीय शेयर बजार यो साताको पहिलो दिन सोमबार घटेको छ । 

भारत सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि लकडाउन अवधि अझै पनि थप्ने भएपछि शेयर बजार नकारात्मक भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनतलाई सम्बोधन गर्दै लकडाउनको अवधि बढाउने संकेत देखिपछि त्यसको नकारात्मक असर शेयर बजारमा देखिएको हो । यो सूचना बाहिर आएसँगै भारतीय शेयर बजारमा बिक्री चाप बढेको थियो ।

मंगलबार कारोबार सुरु भएदेखि घट्न थालेको भारतीय शेयर बजार बन्द हुँदासम्म कायम रह्यो । मंगलबार बम्बई स्टक एक्सचेन्ज सूचक सेन्सेक्स ४०७ अंकले घटेर ३० हजार ६९० दशमलव ०२ बिन्दुमा झरेको छ । 

त्यसैगरी नेशनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी पनि १०५ अंकले घटेर ९ हजार ६ दशमलव ९० अंकमा झरेको छ ।

सोमबार भारतीय शेयर बजारमा बैंक, फाइनान्स तथा अटो सेक्टरका शेयरको बिक्री चाप धेरै देखियो । औषधि कम्पनी तथा मेटल कम्पनीको शेयरमा भने सुधार देखिएको थियो । 

विश्वब्यापी शेयर बजारलाई हेर्दा गत साताको अन्तिम दिन शुक्रबार अमेरिकी शेयर बजारमा उच्च सुधार आएको थियो । तर, सोमबार एसियाका अधिकाशं शेयर बजारमा बिक्री चाप धेरै रहेको छ ।

सोमबार सेन्सेक्समा कारोबार भएका ३० कम्पनीमध्ये २३ कम्पनीको शेयरमूल्य घटेको छ । निफ्टीमा रहेका ११ उपसूचकहरु नकारात्मक रहेका छन् ।