ऋणको सावाँ व्याज भुक्तानीको समयावधि बढाउन दातृ संस्थालाई आग्रह

ऋणको सावाँ व्याज भुक्तानीको समयावधि बढाउन दातृ संस्थालाई आग्रह


 बैकिङ्ग समाचार ।  

अर्थमन्त्री डा.युवराज खतिडाले वैदेशिक दातृ संस्थाहरुलाई वैदेशिक ऋणको सावाँ व्याज भुक्तानीको समयावधि केही वर्ष सार्न आग्रह गरेका छन् ।

बहुपक्षीय विकास बैकहरू, अन्तर्राष्ट्रिय मुद्रा कोष, अन्तर्राष्ट्रिय वित्त निगमलगायत संयुक्त राष्ट्र संघका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाइरसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा पारेको प्रभाव र नेपाल सरकारले गरेको प्रयास सम्बन्धमा शुक्रबार भिडियो कन्फ्रेन्स गर्दै अर्थमन्त्री खतिवडाले वैदेशिक ऋणको सावाँ व्याज भुक्तानीको समय केही वर्ष पर सार्नुपर्ने र द्विपक्षीय ऋण सहायताको मोचन कार्यमा दातृ मुलुकले सदासयता देखाउनु पर्ने धारणा राखे।

छलफलका क्रममा अर्थमन्त्री खतिवडाले विश्वव्यापी संकटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव भएता पनि देश भित्रको संकट व्यवस्थापनमा राष्ट्रिय प्रयास सर्वोपरी रहनेमा जोड दिए।

उनले कोरोना संक्रमण रोकथाम र नियन्त्रण तथा यस क्रममा अर्थतन्त्रमा देखा परेका चुनौती समाधान गर्न नेपालले कुनै कसर बाँकी नराख्ने विश्वास दिलाउँदै यसमा अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा द्विदेशीय सहयोगको पनि उत्तिकै आवश्यकता रहेको बताए।

अर्थमन्त्री खतिवडाले अहिलेको संकट २१ औं शताब्दीको सबैभन्दा ठूलो मानवीय र आर्थिक संकट रहेको धारणा राखे। उनले विगतको संकट मानवीय आव आर्थिक मात्र भएको स्मरण गर्दै अहिले मानवीय र आर्थिक संकट एकसाथ आएकोले अवस्था गम्भीर बनेको बताए। उनले पहिलेको कुनै पनि संकट भन्दा अहिलेको संकटको दायरा फराकिलो र असर पनि उच्च रहेकोले यसबाट उम्कन र विकासको पुनर्उत्थान गर्न पनि अभूतपूर्व सामाजिक र आर्थिक उपायहरू अपनाउनुपर्ने धारणा राखे।

छलफलका क्रममा उनले विकास साझेदारहरूसँग अन्तर्राष्ट्रिय सहयोगको क्षेत्रमा चारवटा विषयमा ध्यान आकर्षित गराए। उनले परम्परागत सहायता नीति, कार्यक्रम तथा सहायताका उपकरणबाट मात्र अहिलेको संकटको समाधान नहुने भएकोले नवीन सहायता, नीति, कार्यक्रम र सहायता उपकरणबाट मात्र हाम्रो जस्तो जोखिमयुक्त देशको संकटको समाधान हुने धारणा राखे। त्यस्तै, नियमित रूपमा उपलव्ध भइरहेको अतिरिक्त स्रोत साधनबाट मात्र यो संकट समाधान हुन सक्ने र विकास सहायताको प्रकार, विधि, सर्त तथा ऋणको लागत एवं प्रक्रियालाई परिमार्जन र सरलीकृत गर्नुपर्ने बताए।