सहकारीका कारण बचतकर्तामा परेका समस्या समाधान गर्न प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

सहकारीका कारण बचतकर्तामा परेका समस्या समाधान गर्न प्रक्रिया सुरू गर्ने सरकारको निर्णय


काठमाडौं–सरकारले सहकारीका कारण बचतकर्तामा परेको समस्या समाधान गर्न प्रक्रिया सुरु गर्ने बताएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकमा सहकारीका कारण बचतकर्तामा परेका समस्याबारे छलफल भएको हो । सरकारकी प्रवक्ता रेखा शर्माले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया सुरू गर्ने निर्णय मन्त्रिपरिषदले गरेको उल्लेख गरिन् ।

‘मुलुकभर सहकारी समस्याका बारेमा कुरा उठेको छ। सहकारीबारे आज मन्त्रिपरिषद बैठकमा पनि गम्भीरतापूर्वक छलफल भयो,’ उनले भनिन्, ‘तत्काल कानूनमा व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने निर्णय भएको छ।’

सामान्य र नियमित प्रक्रियाबाट सहकारी समस्या समाधान नहुने उनको भनाइ छ। विद्यमान कानूनबाट पनि यो सम्भव छैन, विद्यमान संरचनाबाट पनि यो सम्भव छैन त्यसकारण छिटोभन्दा छिटो कानूनी व्यवस्था पनि गर्नुपर्ने उनको धारणा छ । ‘आवश्यक पर्‍यो भने संरचना पनि बनाउनुपर्छ। सहकारी पीडितका समस्यालाई छिटोभन्दा छिटो हल गर्नुपर्छ भन्नेमा गम्भीरतापूर्वक छलफल भएको छ’ उनले भनिन् ।

पछिल्लो चरण सहकारी पीडितको विषयलाई लिएर विभिन्न किसिमका विरोध भएसँगै सरकारको ध्यानआकर्षण भएको हो । लामो समयदेखि सहकारीका बचतकर्ताहरुले आफ्नो बचत फिर्ता गर्न सरकार समक्ष माग गर्दै आएका थिए ।