कतारका अमिरको आगमनमा त्रिभुवन विमानस्थल करिब आधा घण्टा बन्द हुँदै

कतारका अमिरको आगमनमा त्रिभुवन विमानस्थल करिब आधा घण्टा बन्द हुँदै


काठमाडौं–मंगलबार अपरान्ह कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएकाले राजा चढेको विमान अवतरणको समयमा करिब आधा घण्टा विमानस्थलका अन्य उडान प्रभावित हुने भएका छन् ।

विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार केही समय मात्र विमानस्थल प्रभावित हुने भएको हो । प्रवक्ता झाका अनुसार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि अन्य उडान बन्द गरिने छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर शेख तमिम आजदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्दै छन् ।

उनी बंगलादेशको ढाका हुँदै पौने ५ बजे नेपाल आउन लागेका हुन् । राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयम् राष्ट्रपति पौडेल जाने छन् । अमिरको दुई दिने भ्रमणको सुरक्षा नेतृत्व नेपाली सेनाले गर्ने भएको छ । त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले राजाको सम्मानमा २१ तोपको सलामी अर्पण गर्ने भएको छ । उनी बुधबार स्वदेश फर्किनेछन् ।