गुराँस लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

गुराँस लघुवित्तको नाफामा उल्लेख्य वृद्धि


काठमाडौं–गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य वृद्धि भएको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको वित्तीय विवरणअनुसार लघुवित्तले चैत मसान्तसम्ममा रु. दुई करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको सोही अवधिमा कम्पनीको नाफा रु. ५४ लाख (ऋणात्मक) रुपैयाँ थियो ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको चैतसम्म ७.२ रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको यस्तो आम्दानी समीक्षा अवधिमा २९.५६ रुपैयाँ पुगेको छ ।

यस्तै, तेस्रो त्रैमाससम्म लघुवित्तको खुद ब्याज आम्दानी ६७.११ प्रतिशतले, सञ्चालन आम्दानी ४४.९२ प्रतिशतले र कुल सञ्चालन आम्दानी ६०.७१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जामा भने कमी आएको छ । चैत मसान्तसम्म लघुवित्तको निष्क्रिय कर्जा ६.८९ प्रतिशतबाट घटेर २.६९ प्रतिशतमा झरेको हो । लघुवित्तको मूल्य आम्दानी अनुपात ७९.१७ गुणा र प्रतिशेयर नेटवर्थ १४३.२३ रुपैयाँ छ ।

रु. १० करोड १४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा रु. ४ करोड ३८ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रु. १ अर्ब १७ करोड सापटी र रु. ३० करोड २९ लाख निक्षेपबाट रु. १ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको विवरणमा उल्लेख छ ।