काठमाडौं–अर्थ मन्त्रालयबाट सरुवा भएका सचिव कृष्णहरि पुस्कर कर्णको बिदाई र सचिवको जिम्मेवारी सम्हाल्न आएका सचिव मधु मरासिनीको स्वागत गरिएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्त, राजश्वसचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालय तथा मातहत निकायमा कार्यरत सहसचिव, उपसचिव र शाखा अधिृकतभन्दा माथिका अधिकांश कर्मचारी स्वागत तथा बिदाई कार्यक्रममा सहभागी थिए ।
मन्त्रिपरिषदको सोमबारको बैठकले मरासिनीलाई अर्थमा र पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो । मरासिनी यसअघि पनि अर्थसचिव थिए । कार्यक्रममा मन्त्री पुनले लामो सरकारी सेवाका क्रममा जिम्मेवारी हेरफेर हुनुलाई सामान्य रुपमा लिनुपर्ने बताए । यस्तै उनले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए ।
असलनियतका साथ गरिएका काम र निर्णयमा समस्या परे कर्मचारीको संरक्षण राजनीतिक नेतृत्वले गर्ने उनको प्रतिबद्धता थियो । ‘राजनीतिज्ञ, प्रशासक वा सार्वजनिक जीवनमा भएका मानिसहरुमाथि आरोप वा टिकाटिप्पणी हुन सक्छन्’, मन्त्री पुनले भने, ‘असल नियतका साथ गरिएको काममा समस्या आइपरे राजनीतिक नेतृत्वको तर्फबाट संरक्षण हुने कुराको ग्यारेण्टी गर्छु ।’
![](https://i0.wp.com/bankingsamachar.com/wp-content/uploads/2024/04/3815d74f-bae4-4694-b92b-8e2d401a3ee1.jpeg?resize=720%2C458&ssl=1)
उनले निजी क्षेत्रको विश्वास जितेर लगानीको वातावरण निर्माणलाई सरकारले प्राथमिकतामा राखेको भन्दै सोहीअनुसार काम गर्न कर्मचारीलाई आग्रह गरे । ‘निजी क्षेत्रको मनोबल उठाउनुपर्ने छ । बजेटमा हाम्रा नीतिहरु पक्कै पनि त्यसमा केन्द्रित हुनेछन्’, मन्त्री पुनले भने, ‘सिर्जित दायित्वअन्तर्गत खर्च भएका आयोनाको निकाशा दिन र अन्तरमन्त्रालय समन्वयमा ध्यान दिएर खर्च बढाउन मेरो सबैलाई आग्रह छ ।’ मन्त्री पुनले टिममा काम गरेर नतिजा दिनुपर्ने समयमा आफूहरु रहेको बताए ।
कार्यक्रममा सचिवद्वय पुस्कर र मरासिनीले सरकारले दिएको नयाँ जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताए । आफूहरु विगतमा पनि सँगै काम गरेको स्मरण गर्दै उनीहरुले कार्यक्रममा एकअर्काप्रति सौहार्दता प्रकट गरे । सचिव मरासिनीले बजेट निर्माणको पूर्वसन्ध्यामा रहेकाले अर्थमन्त्रीको नीतिअनुसार काम गर्न आफ्नो टिम प्रतिबद्ध रहेको बताए ।
प्रतिक्रिया