फोनपेले सुरु गर्यो नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल

फोनपेले सुरु गर्यो नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल


ललितपुर – फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ । डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्तर्गत यस संस्थाले नेपालमा पहिलो पटक पूर्णरूपमा डिजिटल क्रेडिट कार्डको सुरुवात सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसंगको सहकार्यमा सुरुवात गरेको जनाएको छ ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई (Fonepay Card Scheme अन्तर्गत रही पूर्णरूपको डिजिटल क्रेडिट कार्ड (Fonepay Virtual Credit Card) आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत उपलब्ध गराउन सक्नेछन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूले यस क्रेडिट कार्डको सुविधा सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत​ लिन सक्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको नेपालको आफ्नै (Domestic Card Scheme ) परियोजना अन्तर्गत नेपाल राष्ट्र बैंकबाट यस संस्थालाई प्राप्त अनुमति बमोजिम (Fonepay Credit Card Scheme)  सञ्चालनमा ल्याउन लागिएको हो । यस फोनपे क्रेडिट कार्डले नेपालको कार्ड भुक्तानी उद्योगलाई पुनः परिभाषित गर्ने विश्वास फोनपेले लिएको छ । उक्त क्रेडिट कार्ड पूर्णरूपमा डिजिटल अनबोर्डिङ्ग र जारी हुने तथा हाल (Fonepay QR) मा आबद्ध करिब १४ लाख व्यवसायीहरूको स्थानहरूमा निर्बाध रूपमा प्रयोग गर्न सकिने फोनपेले जनाएको छ ।  

फोनपेका सीईओ दिवस कुमारले भने, ‘हामीले नेपालमा भुक्तनीको नयाँ उपकरणको रूपमा फोनपे कार्ड स्किम प्रस्तुत गर्न पाउँदा उत्साहित छौं । यसको सजिलो पहुँच र बलियो सुरक्षा सुविधाहरूको साथ, यो सेवाद्वारा ग्राहकहरूले आफ्नो वित्तीय व्यवस्थापन र कारोबार सञ्चालन गर्ने तरिकालाई पुनः परिभाषित गर्ने विश्वास लिएका छौं ।