सुनको मूल्य किन घटबढ भइरहन्छ ?

सुनको मूल्य किन घटबढ भइरहन्छ ?


काठमाडौं – सुन अर्थात् बहुमूल्य धातु। तपाईँ हामीले दैनिक रूपमा सुनको मूल्य अकाशियो, उच्च भयो, यतिले घट्यो र यतिले बढ्यो भन्ने समाचार सुनिरहन्छौँ । तर सुनको मूल्य किन घटबढ किन हुन्छ र सुनको मूल्य कसरी निर्धारण हुन्छ र यसको मूल्य घटबढ हुँदा ग्राहक र अर्थतन्त्रलाई कस्तो प्रभाव पर्छ आजको भिडियोमा सुनको मूल्य र यसको प्रभावबारे चर्चा गरौँः 

सुनको मूल्य घटबढ नेपालका  व्यवसायीले  गरेका होइनन्। यसको मूल्य विश्व बजारमा हुने मागको आधारमा निर्धारण हुने गर्दछ । नेपालमा पनि त्यही मूल्य कायम हुने गर्छ । यस्तो किन हुन्छ त ? सुनको मूल्य किन र के कारण घटबढ हुन्छ आउनुहोस् ५ वटा  कुराहरू जानौँ है त :

१. अमेरिकाको केन्द्रीय बैंकको ब्याजदर
अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाउँदा विश्व बजारमा सुनको माग घट्ने गर्छ र सुनको मूल्य पनि केही कम हुन्छ । तर अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाएन भने चाहिँ सुनमा लगानी गर्नेहरू यसमा आकर्षित हुन्छन् त्यस कारण सुनको माग बढ्छ र यसको मूल्य पनि बढ्छ । 

२. बलियो डलरको प्रभाव
कुनै पनि मुलुकको मुद्राको मूल्य  अर्को देशको तुलनामा कम या बढी हुन्छ । त्यसैले डलरको मूल्य बढी हुँदा महँगो डलरले सृजना गर्ने विनिमय दरको अन्तरका कारण कमजोर मुद्राको माध्यमबाट सुनको खरिद गर्नुपर्दा नेपाल जस्तो डलरको तुलनामा कमजोर मुद्रा भएको देशहरूमा सुनको मूल्य बढ्न पुग्छ। 

३. युद्ध तथा अस्थिरता
विश्वका शक्तिशाली देशहरू युद्ध संलग्न हुँदा यसले निम्तिने भुक्तानी अस्थिरताको जोखिमलाई कम गर्न अन्य राष्ट्रहरूले विदेशी विनिमय संञ्चितीको लागि  अन्तर्राष्ट्रिय मुद्राको साटो सुन खरिद गरी आफ्नो सुनको सञ्चितमा वृद्धि गर्दछन् ।  जसले गर्दा बजारमा सुनको माग आकस्मिक रूपमा बढ्न जान्छ र यसको मूल्य पनि बढ्छ। 

४. मुद्रास्फीति
निरन्तरको मुद्रास्फीतिले पैसाको क्रय शक्तिमा ह्रास आउँछ। यस्तो अवस्थामा पैसाको मूल्य सुरक्षित गर्न व्यक्ति वा सङ्घसंस्थाले सुनमा लगानी बढाउँछन् । अब सुनको माग बढ्ने बित्तिकै मूल्य बढ्ने हुन्छ। 

५.सुनको माग तथा आपूर्तिको स्थिति  
अन्तर्राष्ट्रिय रूपमा युद्धको सुरुवात र सम्भावना, निरन्तरको मुद्रास्फीति, लगानीका अन्य क्षेत्रमा न्यून प्रतिफल र अपेक्षितको कमी हुँदा विश्वव्यापी रूपमा घटबढ हुन जान्छ। र अन्तिममा सुनको मूल्य घटबढले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ त। जब सुनको मूल्य वृद्धि हुन्छ तब लगानीकर्ताहरूले सुनमा लगानी गरी उच्च प्रतिफल प्राप्त गर्नको लागि यसमा लगानी वृद्धि गर्दछन् । तर सुनमा गरिने लगानीलाई अनुत्पादक लगानीको रूपमा मानिन्छ । यस्ता अनुत्पादक लगानीले  बजारमा नयाँ वस्तु तथा सेवाको सृजना हुँदैन नयाँ रोजगारी सृजना हुन सक्दैन जसको कारण अर्थतन्त्रमा थप सुस्तता देखिन्छ र सुनको माग वृद्धि हुदैं जान्छ र विदेशी विनिमय संञ्चितीमा ह्रास आउँछ । 


वित्तीय जानकारीमूलक भिडियोको लागि बैंकिङ्ग समाचार डटकम हेर्दै गर्नुहोला ।