कामना सेवा विकास बैंकको अधिकांश वित्तीय सूचकहरूमा उल्लेखनीय प्रगति

कामना सेवा विकास बैंकको अधिकांश वित्तीय सूचकहरूमा उल्लेखनीय प्रगति


काठमाडौं – कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैकले वित्तीय विवरणसँगै खुद खराब कर्जा अनुपात (एनपीएलं) पनि सार्वजनिक गरेको छ ।

जसअन्तर्गत समीक्षा अवधिसम्म बैंकले खुद एनपीएल १.१३ प्रतिशतमा झारेकाे छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद एनपीएल १.४२ प्रतिशत थियो। समीक्षा अवधिमा बैंकले ३३ करोड १३ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३० करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्ष र यसको वर्षको समीक्षा अवधिलाई तुलना गर्दा , बैंकले यस वर्ष ८.४ प्रतिशत बढी नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २८ करोड ७३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ८ करोड ३ लाख रुपैयाँमा सीमित थियो। बैंकको प्रतिशेयर वितरणयोग्य मुनाफा बढेर ११.६८ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष प्रतिशेयर वितरणयोग्य मुनाफा ३.४१ रुपयाँ थियो।

त्यस्तै, खराब कर्जा मेन्टेन गर्न बैंकले इम्पेयरमेन्ट चार्जका रुपमा ३४ करोड ६५ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष बैंकले सो चार्जका लागि ३५ करोड ३७ लाख रुपैयाँ छुट्याएको थियो। यस समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि बढेको छ । अघिल्लो वर्ष सञ्चालन मुनाफा ५२ करोड ५३ लाखरुपैयाँ रहेकोमा यस समीक्षा अवधिमा बढेर ५४ करोड ६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै , ब्याज आम्दानी भने घटेर १ अर्ब ४५ करोड रुपैयाँमात्रै भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी १ अर्ब ५२ करोड रुपैयाँ थियो।

बैंकको रिजर्भको आकार ९.०४ प्रतिशतले बढेर १ अर्ब ५२ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ४० करोड रुपैयाँ थियो। चुक्तापुँजी ३ अर्ब २८ करोड रुपैयाँ रहेको बैंकको रिटेन अर्निङमा २८ करोड ७३ लाख रुपैयाँ रहेको छ। बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १३.४७ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १२.४२ रुपैयाँ थियो। पीई रेसियो २६.५१ प्रतिशत रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५५.३४ रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म बैंकले ५७ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ५३ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ। बैंकले सार्वजनिक गरेकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा बैंककाे सकारात्मक प्रगति देखिएकाे छ।