भन्सार छलि ल्याएको लगभग साढे पाँच लाख बराबरको सामान बरामद, एक जना नियन्त्रणमा

भन्सार छलि ल्याएको लगभग साढे पाँच लाख बराबरको सामान बरामद, एक जना नियन्त्रणमा


सिरहा– भन्सार छलि ल्याएको लगभग साढे पाँच लाख बराबरको सामान बरामद गरिएको छ । बुधबार सिरहाको लहान नगरपालिका वडा नम्बर ७ घण्टाघर स्थित भित्री सडक खण्डमा प्रहरी चौकी लहानबाट सुरक्षार्थ खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा अंकित मूल्य रु. पाँच लाख चालिस हजार बराबरको बि–ब्रिलिएन्ट नामक कान कम सुन्ने मानिसले प्रयोग गर्ने मेसिनहरु बरामद गरेको हो ।

उक्त सामानसहित एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए । प्रहरीको नियन्त्रणमा पर्नेमा भारतबाट नेपालतर्फ भन्सार छली आउँदै गरेका पैदल यात्री जिल्ला सिरहा, नवराजपुर गाउँपालिका वडा नम्बर ४ सोनबर्षा बस्ने अन्दाजी वर्ष ५५ को रामबाबु यादव रहेका छन् ।

उनीमाथि शंका लागि चेकजाँच गर्दा निजले बोकेको २ वटा झोलामा ५४ प्याकेट उक्त मेसिनहरु फेला परेकोले सामान रीतपूर्वक बरामद गरी निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याइएको र उक्त बरामद सामान आज ठाडी भन्सार कार्यालय सिरहामा बुझाइएको सूचना अधिकारी सापकोटाले जानकारी दिए ।