अर्थतन्त्र लयमा फर्किँदैछ : गभर्नर अधिकारी

अर्थतन्त्र लयमा फर्किँदैछ : गभर्नर अधिकारी


काठमाडौं–नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र लयमा फर्किरहेको बताएका छन् । बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठिानमा भएको लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले महँगी क्रमशः घट्दै गएकाले अर्थतन्त्र लयमा आइरहेको बताएका हुन् ।

उनले बाह्य सूचकमा सुधार, वित्तीय क्षेत्र सवल र अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक हुँदै गएकाले आगामी दिनमा थप सुधार हुने दाबी पनि गरेका छन् । उनले विश्वको अर्थतन्त्र सकारात्मक भइरहेको बेला सन् २०२३ मा ६.८ प्रतिशत रहेको मूल्यवृद्धि सन् २०२४ मा ५.९ प्रतिशतमा झर्ने अनुमान सही हुने समेत बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। कोरोना महामारीको संकट र रुस युक्रेन युद्धबीच पछिल्लो समय भइरहेको आर्थिक गतिविधि सुधारले आर्थिक वृद्धिको लक्ष्यमा पुग्छ ।’