को हुन् नेपाल राष्ट्र बैंकका नयाँ गर्भनर महाप्रसाद अधिकारी ?

को हुन् नेपाल राष्ट्र बैंकका नयाँ गर्भनर महाप्रसाद अधिकारी ?


बैकिङ्ग समाचार । 

मन्त्रिपरिषद्को आजको बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहेका महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ।

नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिएको १९ दिनपछि सरकारले महाप्रसाद अधिकारीलाई नयाँ गभर्नरमा नियुक्त गरेको हो।

खोटाङमा जन्मिएका अधिकारीले भारतबाट चार्टर्ड एकाउन्टेन्टको अध्ययन पूरा गरेका छन् ।

सोमबार १७ औं गभर्नरका रुपमा नियुक्त भएका अधिकारी राष्ट्र बैंकमा रहेर डेपुटी गभर्नरको महत्वपूर्ण भूमिका समेत सफलतापूर्वक निर्वाह गरिसेका व्यक्ति हुन्। उनले ‘बिजिनेस एड्मिनिस्ट्रेशन’ मा सन् १९८९ मा स्नातक गरेका छन् भने भारतबाट १९९३ मा चार्टर्ड एकाउन्टेन्टको डिग्री उपाधि लिएका छन्।

यस्तै केन्द्रीय बैंकको वित्तीय व्यवस्थापन, बैंकिङ अफिस, बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन विभागमा बसेर काम गरिसकेको अनुभव अधिकारीसँग छ। उनी तत्कालीन गभर्नर नेपाल नियुक्ति हुँदासमेत अधिकारी गभर्नरका लागि ३ जनामा परेका थिए।

उनले यसअघि झण्डै तीन दशकभन्दा बढी समय मुलुकको केन्द्रीय बैंकको विभिन्न भूमिकामा रहेर कार्यानुभव संगालिसकेका छन्। अधिकारी पछिल्लो चार वर्षदेखि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहेका थिए ।

अधिकारीले बोर्डको प्रमुख कार्यकारी अधिकृत भएर दुईवटा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको समेत आयोजना गरे। बोर्डले संयोजन गरेका केही आयोजना कार्यान्वयनको चरणमा छन् । भारतीय कम्पनी सतलज विद्युत् निगमले सङ्खुवासभामा ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

यस्तै नेपाली साझेदारसहित चिनियाँ लगानीकर्ता समूहले होङ्सी शिवम् सिमेन्ट उद्योग सञ्चालनमा ल्याइसकेको छ । यस्तै धादिङमा अर्को चिनियाँ समूहले ह्वासिन सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

हालका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा उनको कार्यकाललाई सफल बनाउन सहयोग पु¥याउने मध्येका अधिकारी एक हुन्। चार्टर्ड एकाउन्टेन्टको पृष्ठभूमिबाट राष्ट्र बैंकको गभर्नर बन्ने उनी पहिलो व्यक्तित्व समेत हुन्।

अधिकारीले आगामी पाँच वर्षसम्म सोही बैंकलाई नेतृत्व प्रदान गर्नेछन्। नेपालले यही चैत ५ गते गभर्नरको पाँचवर्षे कार्यकाल पूरा गरेर अवकाश पाएका थिए।

यसरी छानिय अधिकारी
गर्भनर नियुक्तिका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा यही चैत १८ गते सिफारिस समिति गठन भएको थियो ।
उक्त समितिले अधिकारी सहित नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र केही समय अघि अर्थ सचिवबाट अवकाश भएका राजन खनालको नाम सिफारिस गरेको थियो । तीनजनाको नाम सिफारिस भएकोमा शिवाकोटी र खनाललाई पछि पार्दै अधिकारीले बाजी मारेका हुन्।

सिफारिश समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रको लब्धप्रतिष्ठित व्यक्तिमध्येबाट दुईजना छान्नुपर्ने कानूनी व्यवस्था रहेको छ।

यस्तै एकजना भने राष्ट्र बैंकका डेपुटी गभर्नरमध्येबाट छान्नुपर्ने प्रावधान छ। सोही व्यवस्था अनुसार नै अधिकारीलाई नियुक्त गरिएको हो।

कोरोना प्रभाव कम गर्दै अर्थतन्त्रलाई सही दिशामा लैजानुपर्ने चुनौती 
कोरोनाको कहरका कारण विश्वव्यापीरुपमा नै अर्थतन्त्रमा सङ्कट देखा परेको बेला महाप्रसाद अधिकारी नवनियुक्त गर्भनरको रुपमा नेपाल राष्ट्र बैंकको कमान सम्हाल्नेगरि सोमबार नियुक्त भएका छन् ।

उनका सामु अवसर भन्दा धेरै चुनौती  धेरै छन्। विश्वभरी फैलिएको कोरोनाको असरबाट नेपालसमेत अछुतो छैन। यस्तो विषम अवस्थालाई अर्थतन्त्रलाई सुधार गर्दै लयमा ल्याउनु नै अधिकारीका लागि तत्कालको महत्वपूर्ण कार्यभार रहेको छ।

कोरोना सङ्क्रमणका कारण विश्व आर्थिक मन्दीको अवस्था र त्यसले नेपालको आर्थिक क्षेत्रमा पार्ने प्रभावलाई कम गर्न सरकार, निजी क्षेत्र तथा अन्य सरोकार भएका निकायसँग समन्वय गर्नुपर्ने धरातलीय यथार्थ रहेको छ।

बैंकिङ क्षेत्रलाई कोरोनाले पार्ने प्रभाव कम गर्दै सही दिशामा लैजानसमेत उनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको छ ।
केन्द्रीय बैंकको नेतृत्व सम्हाल्दै गर्दा अधिकारीले अघिल्ला गभर्नरले अगाडि बढाएका ‘बिग मर्जर’, बैंकिङ सुशासन र वित्तीय साक्षरता अभिवृद्धिका लागि समेत काम गर्नुपर्ने अवस्था छ।