गभर्नरका लागि ३ जनाको नाम सिफारिस 

गभर्नरका लागि ३ जनाको नाम सिफारिस 


बैकिङ्ग समाचार, 

नेपाल राष्ट्र बैंकको आगामी गभर्नर छनौटका लागि गठित समितिले तीन जनाको नाम सिफारिस गरेको छ।

अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले आगामी गभर्नरका लागि बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्व सचिव राजन खनालको नाम सिफारिस गरेको छनौट समितिका एक सदस्यले जानकारी दिए।

आज बस्ने मन्त्रीपरिषद्को बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ। छनौट समितिमा अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व सचिव कृष्णहरि बास्कोटा रहेका थिए।

नेपाल राष्ट्र बैंक ऐनअनुसार, अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्सीय सिफारिस समितिले गभर्नरको लागि तीन जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ । समितिले सिफारिस गरेको तीन जनामध्येबाट एक जनालाई मन्त्रीपरिषद्ले नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गर्ने कानूनी व्यवस्था छ।

राष्ट्र बैंकमा गभर्नर रहेका डा. चिरञ्जिवी नेपालको पाँच वर्षे कार्यकाल गत ४ चैतमा सकिए यता नेपाल राष्ट्र बैंकमा गभर्नरको पद खाली छ। अहिलेका लागि सरकारले डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीलाई कामयमुकाय गभर्नरको जिम्मेवारी दिएको छ।