बिहीबारदेखि लेखा व्यवसायीको तेस्रो राष्ट्रिय सम्मेलन हुँदै

बिहीबारदेखि लेखा व्यवसायीको तेस्रो राष्ट्रिय सम्मेलन हुँदै


काठमाडौं– लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय लेखा व्यवसायी सम्मेलन (भाेलि) बिहीबारदेखि काठमाडौंमा आयोजना हुने भएको छ। चार्टर्ड एकाउन्टेन्टहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को आयोजनामा दुई दिने सम्मेलन हुन लागेको हो।

सम्मेलनमा एक हजार भन्दा बढी लेखा व्यवसायी सहभागी हुने अपेक्षा गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सम्मेलनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्नेछन्। सम्मेलनको पहिलो दिन बिहीबार उद्घाटन सत्रबाहेक तीन ओटा छलफल सत्र हुनेछ। त्यस्तै, दोस्रो तथा अन्तिम दिन शुक्रबार साना तथा मझौला व्यवसायको दीगाे व्यावसायिक रणनीति, सहकार्य सहितको नियमन, व्यवसायिक सेवाको दक्षता अभिवृद्धि लगायतका विषयमा छलफल सत्र हुनेछन् । दुई दिनसम्म चल्ने सम्मेलनमा छुट्टाछुट्टै पाँच सत्र सञ्चालन हुनेछन् । सम्मेलनमा लेखा व्यवसायको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेशन अफ एकाउन्टेन्ट्स(आइएफएसी) का अध्यक्ष श्री आस्मा रेसमौकीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नेछिन् ।

विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने तथा संस्थासँग सम्बन्धित वृत्तचित्र पनि सम्मेलनमा प्रस्तुत गरिने बताइएको छ। सम्मेलनमा नेपाल राष्ट्र बैंंकका गभर्नर सिए.महाप्रसाद अधिकारी, राजस्व सचिव डा. राम प्रसाद घिमिरे, एक्यानका अध्यक्ष सिए. दीपक पाण्डे, अडानका अध्यक्ष आरए. केदारनाथ पौडेल, विभिन्न वाणिज्य बैंक तथा कम्पनीका सीइओ लगायत वरिष्ठ सिएहरु सहभागी हुनेछन् ।

सम्मेलनमा नेपाल धितोपत्र बोर्ड, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, सहकारी विभाग, नेपाल बीमा प्रधिकरण, आन्तरिक राजस्व विभाग, केन्द्रीय अनुसन्धान ब्यूरो, कम्पनी रजिष्टार लगायत अन्य सरकारी निकायका प्रतिनिधिहरु समेतको सहभागितामा नियमनबारे छलफल समेत गरिनेछ।

आइक्यानले नेपालमा सिए शिक्षाको विकास र यसका सदस्यहरुको नियमनको काम गर्दै आइरहेको छ। सम्मेलनमा देशभरबाट लेखा व्यवसायीहरुको सहभागिता हुने बताइएको छ। आइक्यानको आयोजनामा सन् २०२२ मा पहिलो सम्मेलन भएको थियो । जसमा १३ सय जनाले भाग लिएका थिए। त्यस्तै, सन् २०२३ मा भएको दाेस्राे सम्मेलनमा १२ सय जनाले सहभागिता जनाएका थिए।