विश्वभर कोरोना संक्रमणबाट ६९ हजार ५०० को मृत्यु, १२ लाख ७५ हजार संक्रमित

विश्वभर कोरोना संक्रमणबाट ६९ हजार ५०० को मृत्यु, १२ लाख ७५ हजार संक्रमित


विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट सोमबार दिउँसो १ बजेसम्म विश्वका विभिन्न देशमा गरी ६९ हजार ५०१ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभरि १२ लाख ७५ हजार ३७ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा २ लाख ६५ हजार ८८७ जना उपचारपछि घर फर्किएका छन् भने ९ लाख ३९ हजार ६४९ व्यक्ति हाल उपचारत छन् ।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपी पछिल्लो चरणमा संयुक्तराज्य अमेरिका सहित युरोपेली मुलुकहरुमा यस भाइरसका कारण भयावह स्थिति उत्पन्न भएको छ ।

हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा १५ हजार ८८७ जनाको मृत्यु भइसकेको भने १ लाख २९ हजार सङक्रमित छन् । स्पेनमा १२ हजार ६४१ जनाको मृत्यु भएको छ भने १ लाख ३१ हजार भन्दा बढी सङक्रमित रहेका छन् ।

कोरोना भाइरसको अर्को केन्द्रका रुपमा विकास भइरहेको संयुक्त राज्य अमेरिकामा सोमबार थप ४ जना सहित ९ हजार ६२० जनाको मृत्यु भएको छ भने ३ लाख ३६ हजार भन्दा बढी सङक्रमित छन् ।

कोरोनाभाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३३१ जनाको मृत्यु भएको छ भने कूल संक्रमित ८१ हजार ७०८ जनामध्ये करिब ७७ हजार व्यक्ति निको भएर घर फर्किएका छन् ।

कोरोनाभाइरसको सङ्क्रमणको कारण फ्रान्समा ८ हजार ७८ जना, बेलायतमा ४ हजार ९३४ जना, नेदरल्यान्ड्समा १ हजार ७६६ जना, जर्मनीमा १ हजार ५८४ जना, बेल्जियममा १ हजार ४४७ जनाको मृत्यु मृत्यु भइसकेको छ ।

इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण ३ हजार ६०३ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा १८६ व्यक्तिको मृत्यु भएको छ।

सोमबार १ बजेसम्म विश्वमा २ हजार १७५ जनामा नयाँ संक्रमण भेटिएको छ जसमा मेक्सिकोमा २५३ हजार, फिनल्याण्ड २४९ जना, पानामा, इजरायल, युएसए, फिलिपिन्स, पाकिस्तानमा १०० बढी नयाँ संक्रमित थपिएका छन्।

हालसम्म अमेरिकामा सबैभन्दा धेरै १७ लाख ७२ हजार बढी परिक्षण भएको छ। यस्तै जर्मनी ९ लाख १८ हजार, रसियामा ६ लाख ९७ हजार, इटाली ६ लाख ९१ हजार, दक्षिण कोरिया ४ लाख ६१ हजार, स्पेन ३ लाख ५५ हजार र क्यानडामा ३ लाख ३० हजार जनामा कोभिड १९ को परिक्षण गरिसकिएको छ।