रुपन्देही– पछिल्लो चरण उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ऋण अपचलन गरेको आरोपमा विभिन्न समाचारहरु आइरहेका छन् । लामिछानेमाथि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट प्रक्रिया नपुर्याएर ऋण लिएको आरोप छ । उनीमाथि २ करोड बराबरको रकम ऋण लिएको आरोप छ ।
यता इलाका प्रहरी कार्यालय बुटवलले गत शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा गृहमन्त्री लामिछानेले सहकारीबाट गैरकानूनी ऋण लिएको कुरा बाहिरियो । तर, उता रुपन्देही जिल्ला अदालतले भने लामिछानेविरुद्ध कुनै मुद्दा नपरेको दाबी गर्दै आएको छ । अदालतले जिबी राई (गितेन्द्र बाबु राई) सहित २८ जनाविरुद्ध भने प्रक्रिया नै पुरा नगरी ऋण लिएको आरोपमा मुद्दा दायर भएको बताउँदै आएको छ ।
‘जिबी राईसहित २८ जनाविरुद्ध मुद्दा आएको छ । रवि लामिछानेलाई नै प्रतिवादी बनाएर मुद्दा आएको छैन’, अदालतले भन्यो । लामो समयदेखि सडक, सदनसम्म रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानविन हुनुपर्ने माग हुँदै आएपनि कुनै किसिमको छानविन भने भएको छैन ।
त्यस्तै, आज सहकारीका बचतकर्ताहरुले सहकारी ठगीमा संलग्न गितेन्द्रबाबु (जिबी) राईसहितका व्यक्तिहरुलाई पक्राउ गर्न माग गर्दै बुटवलमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा पीडित बचतकर्ताहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण बन्द गर’, ‘जिबि राई खोई ? भन्देउ रवि दाइ’, ‘गृहमन्त्री आफ्नो वचन पूरा गर, जिबि राई पक्राउ गर’, ‘वचत रकम फिर्ता देऊ’ लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा सहकारी पीडित संघर्ष समितिका संयोजक विजयकुमार नेपालले सुप्रिमका वचतकर्ताको रकम गैर–कानूनी हिसाबले गृहमन्त्री लामिछानेको खातामा २ करोड रकम गएको प्रहरी अनुसन्धानबाट पुष्टी भएकाले अब अनुसन्धान प्रभावित हुने आशंका पनि व्यक्त गरे । प्रदर्शकारीहरुले लामिछाने सत्तामा नरहँदा कुनै पनि आरोप लागेका व्यक्तिमाथि संसदीय छानवीन समिति बनाएर अनुसन्धान गर्नुपर्ने बताउँदै आएतापनि आफु सत्तामा हुँदा केही काम गर्न पनि तयार नभएको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका एक पीडित बचतकर्ता कृष्णप्रसाद खरेलले गृहमन्त्री लामिछानेको संलग्नता पुष्टी भएपनि प्रहरीले प्रतिवादी नबनाउनुले निष्पक्ष अनुसन्धान हुनेमा शंका उत्पन्न भएको बताए । सुप्रिम सहकारी पीडितहरुले आफ्नो ८६ करोड १८ लाख २३ हजार रकम फिर्ता गराउन माग गर्दै छन् ।
त्यस्तै, यता जानकारहरु पनि पछिल्लो चरण सहकारी ठगी प्रकारणमा ठुला व्यक्तिको संलग्नता सार्वजनिक हुँदै जाँदा सत्ताको आडमा सबैलाई बचाउने खेल भएको हुनसक्ने टिप्पणी गर्दै आएका छन् । केही समयअघि राष्ट्रिय सहकारी बैकका सञ्चालक केबि उप्रेती पनि सहकारीको रकम हिनामिना गरेर फरार भएका छन् भने लामो समयदेखि फरार रहेका जिबी राईलाई पक्राउ गर्न सरकार पनि अग्रसर भएको देखिँदैन ।
प्रतिक्रिया