काठमाडौं– जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर (बेस क्याम्प) पुगेर पर्यटकसँग अन्तर्क्रिया गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा खटिएको प्रहरीको गस्तीले आज बेसक्याम्प पुगेर शान्ति, सुरक्षाबारे पर्यटकसँग सचेतनामूलक अन्तर्क्रिया गरेको हो।
जिल्ला प्रहरी प्रमुख घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालसहित बेसक्याम्प पुगेको टोलीले सुरक्षामा कुनै कमी भए जानकारी गराउन पर्यटकलाई आग्रह गरे।
पाँच हजार तीन सय ६४ मिटर उचाइमा अवस्थित आधार शिविर अहिले आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ बनेको छ। पर्यटकको चहलपहल बढिरहेका वेला आधार शिविरमा गस्ती गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।
प्रनाउ घिमिरेको कमान्डमा अस्थायी प्रहरी चौकी दिङबुचे सोलुखुम्बुका प्रहरीहरूसमेत सो क्षेत्रमा परिचालन भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिए।
‘सगरमाथा क्षेत्रको चार हजार चार सय १० मिटरको उचाइमा अवस्थित दिङबुचेभन्दा माथि प्रहरी चौकी छैनन्। यसले गर्दा पर्यटकलाई असुरक्षित महसुस हुन सक्ने भएकाले गस्तीमार्फत शान्ति, सुरक्षाबारे चेतनामूलक अन्तर्क्रिया गरेका हौँ,’ उनले भने।
हिमाल आरोहणको सिजन सुरु भएकाले सगरमाथा क्षेत्रमा विदेशी तथा स्वदेश पर्यटकको घुइँचो बढ्न थालेको प्रनाउ घिमिरेले बताए। सुरक्षाको प्रत्याभूति दिलाउने र केही असहज भए अपनाउनुपर्ने सुरक्षा उपायबारे जानकारी दिने उद्देश्यले गस्ती टोली परिचालन गरी अन्तर्क्रियामा गरिएको उनको भनाइ छ।
प्रतिक्रिया