ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन त्रुटीरहित सुरक्षा व्यवस्था मिलाइएको छ : प्रमुख जिल्ला अधिकारी बस्नेत

ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन त्रुटीरहित सुरक्षा व्यवस्था मिलाइएको छ : प्रमुख जिल्ला अधिकारी बस्नेत


काठमाडौं–नयाँ वर्षको शुरुवातदेखि २४ सैँ घण्टा खुला गर्न लागिएको ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन त्रुटीरहित र भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ । शुक्रबर प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले २०८१ साल वैशाख १ गतेदेखि काठमाडौं जिल्लाको ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रीकालीन समयमा समेत व्यवसाय सञ्चालन गर्नेगरी खुला गर्ने तयारी गरेकाले सोही अनुसारको सुरक्षा व्यवस्था मजबुत बनाइएको बताए ।

उनले जिल्ला सुरक्षा समितिले रात्रीकालिन समयमा मनोरञ्जनात्मक व्यवसायहरुको लागि विभिन्न समय तोकेर खुला राखेको स्थिति रहेपनि अब सबै किसिमका व्यवसायहरु सञ्चालन गर्नेगरी बजार नै खुला राख्ने बताए । उनले व्यवसाय सञ्चालनका लागि पूर्ण समय व्यवसाय सञ्चालन गर्ने सम्बन्धी आचारसंहीता तथा मापदण्ड, २०८० स्वीकृत गरेको बताए । आचारसंहीतामा व्यवसायीहरुको पालना गर्नुपर्ने आचारसंहीता, उपभोक्ताहरुले पालना गर्नुपर्ने आचारसंहीता, त्यहाँ कार्यरत श्रमीकहरुले पालना गर्नुपर्ने आचारसंहीता, स्थानीय बासिन्दाहरुको अधिकार र दायित्व र सुरक्षा संयन्त्रले सुरक्षा प्रदान गर्नका लागि अवलम्वन गर्नुपर्ने विधि, प्रक्रियाहरु उल्लेख गरिएको उनको भनाइ छ । उनले र विशेष सुरक्षा योजना भित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित बनाइने बताए ।

रात्रीकालीन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने साउण्ड पोलुसनलाई व्यवस्थित गर्ने, पूर्ण साउण्ड पोलुसन हुन नदिने गरी व्यवस्था मिलाउने, खुला स्थानमा लाइभ म्युजिक गरेर मनोरञ्जनात्मक कार्यक्रमसहितका व्यवसाय निश्चित समयसम्मको लागि मात्रै लाइभ म्युजिक सञ्चालन गर्न पाउने र म्युजिक बन्द गरेर व्यवसाय सञ्चालन गर्नेकुरा आचारसंहीतामा राखेको उनले औंल्याए । उनले स्थानीहरुले ध्वनी प्रदुषणको कुरा उठाएको भन्दै सो क्षेत्र भित्रको भगवान बहालमा स्थानीयको बढी बसोवास भएकाले उक्त क्षेत्रलाई रात्रीकालीन पूर्ण रुपमा सञ्चालन गर्ने क्षेत्रबाट टाढा राख्ने बताए ।

उनले भने, ‘हामीले २०८१ साल वैशाख १ गतेदेखि काठमाडौं जिल्लाको ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रीकालीन समयमा समेत व्यवसाय सञ्चालन गर्नेगरी खुला गर्ने तयारी गरेका छौँ । यसको लागि यसअघि जिल्ला सुरक्षा समितिले रात्रीकालिन समयमा मनोरञ्जनात्मक व्यवसायहरुको लागि विभिन्न समय तोकेर खुला राखेको स्थिति थियो । त्यहाँ सबै किसिमका व्यवसाय सञ्चालन भएका थिएनन् । अब हामीले ति क्षेत्रहरुमा सबै किसिमका व्यवसायहरु सञ्चालन गर्नेगरी बजार नै खुला राख्ने हिसावले अघि बढेका छौँ । त्यसका लागि अहिले हामीले पूर्ण समय व्यवसाय सञ्चालन गर्ने सम्बन्धी आचारसंहीता तथा मापदण्ड, २०८० स्वीकृत गरेका छौँ ।’

उनले ठमेल र दरबारमार्ग क्षेत्रमा व्यवसाय खुला रहेको ठाउँमा प्रयोग गर्नका लागि अहिले प्रयोगमा रहेको शौचालयलाई निश्चित संकेत दिएर सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्नेगरी व्यवस्था गर्न लागिएको बताए । रात्रीकालीन समयमा यातायातको साधनहरु अभाव हुने र बजारबाट फर्किन्का लागि समस्या हुनेकुरालाई मध्यनजर गरी नगरबस, ट्याक्सी, अनलाइन सवारी साधन सञ्चालन गर्ने विषयमा गम्भीर भएर व्यवस्थापनमा लागेको पनि उनले जानकारी दिए । (न्युज एजेन्सी नेपाल)