पर्सा–स्थलमार्ग भइ नेपाल भ्रमणमा आउने भारतीय पर्यटकले भारु २५ हजार मात्रै ल्याउन पाउने नियमले सीमावर्ती जिल्लाका पर्यटन क्षेत्र प्रभावित भएको छ । बारा, पर्सा जिल्लामा भारतीय पर्यटक लक्षित क्यासिनोसहितका सानाठूला दुई दर्जन होटल सञ्चालनमा छन् । तर भारतीय पर्यटकले साथमा भारु २५ हजारभन्दा धेरै नगद बोक्न नपाइने नेपाल राष्ट्रबैंकको नियम छ । जसका कारण पर्यटकले खुलेर खर्च गर्न नपाएको व्यवसायीको गुनासो छ ।
नेपाल उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले सरकारको गलत नीतिले भारतीय पर्यटकले खुलेर खर्च गर्ने वातावरण नबनेको गुनासो गरे । ‘हामी नेपालमा पर्यटक भित्र्याउने भनिरहेका छौँ । तर भारतीय पर्यटकलाई भारु २५ हजारभन्दा धेरै रकम बोक्न नपाइने नियमले पयर्टन क्षेत्रको विकासमा अवरोध पुगेको छ । सरकारले तत्काल यो नियम पुनःविचार गर्नुपर्छ’, उनले भने ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष सुबोधकुमार गुप्ताले यो प्रावधान खुकुलो बनाउनुपर्ने बताए । ‘पक्कै भारु २५ हजार मात्रै ल्याउन पाउने नियमले केही जटिलता छ’, उनले भए, ‘पैसा ल्याउन पाउने सीमा बढाएर अन्तरदेशीय भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न आवश्यक छ ।’
उनले बारा र पर्सामा औद्योगिक, धार्मिक र शैक्षिक पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए । ‘बारारपर्सा जिल्लामा विदेशी उत्पादन कम्पनीका सप्लायर्सको बाक्लो उपस्थिति छ । त्यसलाई हामीले औद्योगिक पर्यटनका रुपमा विकास गर्नुपर्छ’, उनले भने, ‘हामीले यहाँ शैक्षिक र धार्मिक पर्यटनको समेत विकास गर्नुपर्छ ।’
अध्यागमन विभागका अनुसार सन् २०२३ मा नेपालमा हवाईमार्गबाट १० लाख १४ हजार आठ सय ८६ पर्यटक नेपाल आएका थिए । घुम्न आउनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन् । भारतबाट तीन लाख १९ हजार नौ सय ३६ जना आएका थिए । सन् २०२४ को मार्च महिनामा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल भित्रिएका छन् । ती मध्ये भारतीय पर्यटकको सङ्ख्या ३० हजार छ सय ९८ रहेको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटकको सङ्ख्या ठूलो भएपनि तथ्याङ्क राख्ने गरिएको छैन ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछाने बिहीबार वीरगञ्जमा आयोजित एक कार्यक्रममा पर्यटकलाई ठाउँठाउँमा चेकिङका नाममा दुव्र्यवहार नगर्न निर्देशन दिए । ‘पर्यटकलाई एक ठाउँमा सुरक्षित ढङ्गले जाँच गर्नुस । त्यसपछि पर्यटकलाई निर्वाधरुपमा आफ्नो क्रियाकलाप गर्ने वातावरण सिर्जना गरिदिनुस्’, उनले भने, ‘पर्यटकलाई गल्ली पिच्छे, मोडपिच्छे र होटल पिच्छे जाँच गरेर दुख नदिनुस, त्यसो गर्नु भनेको दुर्व्यवहार गर्नु हो ।’ गृहमन्त्री लामिछानेले भारतीय पर्यटकले भारु २५ हजार ल्याउन पाउने विषयमा सरकारले कूटनीतिक ढङ्गबाट आवश्यक समन्वय गर्ने बताए । (रासस)
प्रतिक्रिया