मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण

मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण


टीकापुर – कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकैखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषियन्त्र वितरण गरिएको हो ।

किसानलाई मकै लगाउने मेसिन, गोड्ने मेसिन, दाना छोडाउने मेसिनलगायत आठ लाख बराबरका सामग्री वितरण गरिएको कृषि ज्ञान केन्द्र कैलालीका बाली विकास अधिकृत रामनारायण चौधरीले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा अन्नपूर्ण कृषक समूह कालिकापुरमा २९ हेक्टर जमिनमा मकैखेती गरिएको छ । मकैखेतीमा कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदान प्रदान गरेको छ । किसानलाई मकैखेती विस्तारसँगै बजारीकरणमा सहयोग पुगोस् भनेर कृषि सामग्री वितरण गरिएको बाली विकास अधिकृत चौधरीले बताए।

‘किसानलाई कृषिमा थप आकर्षित गर्न र हौसला प्रदान गर्न सहयोग गरिएको हो,’ उनले भने, ‘सामग्री सहयोगले खेती गर्न र बजारीकरणमा सहयोग पुग्नेछ ।’

कालिकापुरमा एक सय १९ किसानले अहिले व्यावसायिक मकैखेती गर्दैआएका छन् । मकै उत्पादन गर्न राम्रो क्षेत्र रहेको र बजारीकरणमा समस्या नभएकाले धेरै किसानले मकैखेती गरेका अन्नपूर्ण कृषक समूहका अध्यक्ष पदमबहादुर विष्टले बताए ।

‘समूहमार्फत खेती गर्दा सहज भएको छ । समूहमार्फत किसानले कृषियन्त्र प्राप्त गरेका छन्,’ उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष किसानले मकैखेती गर्ने जमिन बढाएका छन् ।’