थारु आवासमा पर्यटक बढ्दै

थारु आवासमा पर्यटक बढ्दै


उदयपुर – दुई वर्षअघि उदयपुरको त्रियुगा नगरपालिकाका–१३ स्थित बेहडवामा सञ्चालित जिल्लाको एक मात्र थारु आवास (होमस्टे) मा अहिले दैनिक सयौँको सङ्ख्यामा पर्यटकको आगमन बढ्न थालेको छ ।

मेचीदेखि महाकालीसम्म र हिमाल पहाडसहित आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको होमस्टे सञ्चालक बताउँछन् । पर्यटकको आगमन बढे्सँगै आम्दानी पनि वृद्धि भएको व्यवसायी बताउँछन् ।

गाउँलेहरुले मिलेर सञ्चालन गरेको यो सामुदायिक होमस्टेमा अलिे आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको होमस्टे सञ्चालक समितिका अध्यक्ष उतिमलाल चौधरीले बताए । ‘सुरुमा आठ घरपरिवार मिलेर सञ्चालन गरेका हौँ । स्थानीय पर्यटन प्रवर्द्धन र थारु संस्कृतिको प्रचारप्रसार गर्ने लक्ष्यका साथ होमस्टे सञ्चालन गरेका हौँ’, उनले भने ।

सुरुमा पर्यटकको आगमन न्यून रहको भन्दै पछिल्लो एक वर्षयता दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका चौधरीले जानकारी दिए । अहिले पर्यटकको प्रभावकारी व्यवस्थापन गर्न निकै चुनौती बन्न थालेको उनको भनाइ छ ।

अध्यक्ष चौधरीका अनुसार नेपालको पश्चिम महाकालीदेखि तराई तथा काठमाडौँ र पूर्वी नेपालका साथै भारतको बिहार दार्जिलिङ, सिलीगुढी, कालिम्पोङसम्मका पर्यटक होमस्टेमा बस्नका लागि आउने गरेको समितिका सदस्य नन्दु चौधरीले बताए।

समितिका लेखा प्रमुख प्रभा चौधरीका अनुसार अहिले होमस्टेमा एकसाता अगाडिदेखि सबै कोठा बुकिङ हुन थालेका छन् । बाहिरबाट आउनेले एकसाता पहिला नै सूचनामार्फत कोठा लिने गरिरहेका उनको भनाइ छ । होमस्टेमा दैनिक न्यूनतम रु ५० हजारभन्दा बढीको आर्थिक कारोबार हुने गरेको उनले जानकारी दिए ।

थारु संस्कृतिमा आधारित खानाको परिकार, पहिरन र आगन्तुकलाई गरिने स्वागतसहितको व्यवहारले पर्यटक आकर्षित हुँदै गएका स्थानीय दुर्गानन्द चौधरीले बताए ।

होमस्टे सञ्चालन गरेको छोटो समयमा यहाँ पर्यटनको आगमन बढेको भन्दै यसले रोजगारी सिर्जना हुनुका साथै आर्थिकस्तर वृद्धि गरेको त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतले बताए । यहाँ सञ्चालित होमस्टेका कारण आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्न थालेको उनको भनाइ छ ।

पाहुनालाई एक किलोमिटर परबाट नै थारु परम्पराको बयलगाडामार्फत यात्रा गराएर होमस्टेमा प्रवेश गराउने भएकाले पर्यटकलाई सुरुआतदेखि नै मनोरञ्जन प्राप्त हुने उदयपुरका पर्यटन व्यवसायी जीतु रैलाले बताए । यहाँ सञ्चालित होमस्टेले पर्यटन प्रवर्द्धनमा र विकास टेवा पु¥याएको भन्दै पर्यटन बोर्डले हालै पुरस्कृतसमेत गरेको छ । (रासस)