मूल्यवृद्धि ६ प्रतिशत नाघ्यो, काठमाडौंमा उपभोग्य वस्तु छोइनसक्नु !

मूल्यवृद्धि ६ प्रतिशत नाघ्यो, काठमाडौंमा उपभोग्य वस्तु छोइनसक्नु !


बैंकिङ्ग समाचार । 

पछिल्लो समय दैनिक उपभोग्य बस्तुहरुको मूल्य ह्वात्तै बढेको पाइएको छ । 
नेपाल राष्ट्र बैंकका अनुसार माघमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ६.८७ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा मूल्यवृद्धि ४.३५ प्रतिशत रहेको थियो। 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ९.७९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.६५ प्रतिशत छ। खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ। समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.५८ प्रतिशत, तराईमा ७.२९ प्रतिशत, पहाडमा ५.४६ प्रतिशत र हिमालमा ५.२८ प्रतिशत मुद्रास्फीति रहेको छ।

गत आर्थिक वर्षको माघ महिनासम्मको तथ्याङकलाई नियाल्दा यी क्षेत्रहरुमा क्रमशः ५.१९ प्रतिशत, ३.४४ प्रतिशत, ४.९१ प्रतिशत र ५.२७ प्रतिशत मूल्यवृद्धि रहेको थियो। त्यसैगरी माघमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.१३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ५.१८ प्रतिशत मात्र रहेको थियो।

त्यस्तै उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको मूल्यवृद्धि क्रमशः ७.५१ प्रतिशत, ७.७० प्रतिशत र २.९४ प्रतिशत रहेको छ। यसैगरी निर्माण सामग्रीको थोक मूल्य भने ३.८९ प्रतिशतले घटेको छ।