महासंघको कृषि उद्यम केन्द्र र भारतको कृषि बजार बोर्डबीच सम्झौता

महासंघको कृषि उद्यम केन्द्र र भारतको कृषि बजार बोर्डबीच सम्झौता


काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्र र भारतको ‘नेशनल काउन्सिल अफ स्टेट एग्रिकल्चर मार्केटिङ बोर्ड’बीच एक सम्झौता भएको छ।कृषि क्षेत्रमा सहयोग, प्रवर्द्धन, आर्थिक विकास, नेपाल–भारत बीचको व्यापारिक सम्बन्धलाई सुमधूर र सहज बनाउने उदेश्यले यी दुइ संस्थाबीच सम्झौता भएको हो।

दुबै देशका उद्यमी, कृषक र व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्ने कार्यमा एकआपसमा सहयोग आदानप्रदानका साथै असल कृषि कार्य, प्राविधिक सहयोग, अध्ययन अनुसन्धान, अवलोकन भ्रमण, अनुभव आदान प्रदान, बजार, बजारीकरण र आयात निर्यात आदिमा सहयोग गर्ने उद्देश्यले सम्झौता भएको कृषि उद्यम केन्द्रले जनाएको छ।

कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले यो सम्झौताले नेपालले भारतको कृषि बजारको अध्ययन अवलोकन, उद्यमी, कृषक र कृषि सम्वद्ध व्यवसायीहरुसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गरेर अनुभवको आदान प्रदान गर्न सहयोग पुग्ने बताए।उनले यो सम्झौता नेपालको कृषि क्षेत्रको विकास र विस्तारका लागि कोशेढुङ्ग सावित हुने भएकोले कृषि उद्यम केन्द्र सम्झौताको मर्म अनुसार कार्य योजना बनाएर अगाडि बढने प्रतिवद्धता जनाएका छन्।सम्झौता पत्रमा केन्द्रका सभापति डिबी बस्नेत र बोर्डका प्रवन्धक निर्देशक डाक्टर एएस यादवले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर कार्यक्रममा नेपाल सरकारका बिशिष्ठ कर्मचारीहरु, नेशनल सीड एण्ड फट्रिलाइजर प्रोजेक्टका प्रोजेक्ट लिडर डाक्टर दैतीमान चौधरी, कृषि उद्यम केन्द्रका बोर्ड सदस्यहरु झलक लाल श्रेष्ठ, सुनिता न्येम्हाफुकी, कृष्ण भक्त श्रेष्ठ र का।वा। प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र कुमार जोशीको समेत उपस्थिति रहेको थियो।