बैंकहरुमा बीमा कम्पनीको लगानी १३.६ प्रतिशतले बढ्यो

बैंकहरुमा बीमा कम्पनीको लगानी १३.६ प्रतिशतले बढ्यो


काठमाडौं– चालु आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्थाहरुमा बीमा कम्पनीहरुको लगानी साढे १३.६ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरुमा जीवन बीमा, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन कम्पनीहरुको लगानी १३.६ प्रतिशतले बढेको हो ।

योसँगै बीमा कम्पनीहरुले बैंकहरुमा चालु आर्थिक वर्षको फागुनसम्म मुद्दति निक्षेपमा रु. ५ खर्ब ६८ अर्ब १९ करोड रुपैयाँ लगानी गरेको तथ्याङ्कमा उल्लेख छ। गत असार मसान्तसम्म बैंकहरुमा बीमा कम्पनीहरुको लगानी रकम रु. ५ खर्ब १५ करोड रुपैयाँ थियो। यो ८ महिनाको अवधिमा बीमा कम्पनीहरुको बैंकहरुमा लगानी रु. ६८ अर्ब ४ करोड रुपैयाँले बढेको हो।

यसैगरी ८ महिनाको अवधिमा कर्मचारी सञ्चय कोषको मुद्दति निक्षेपका रुपमा बैंकहरुको लगानी २६.८ प्रतिशतले बढेर रु. १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। गत असारसम्म बैंकहरुमा कर्मचारी सञ्चय कोषको कुल लगानी रु. १ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ थियो। ८ महिनामा सञ्चय कोषको लगानी रु. ३५ अर्ब ७८ करोड रुपैयाँले बढेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ।

यस्तै, चालु आर्थिक वर्षको आठ महिनामा बैंकहरुमा नागरिक लगानी कोषको लगानी ८ प्रतिशतले बढेर रु. १ खर्ब ७ अर्ब ४५ लाख रुपैयाँमा सीमित भएको छ। गत असारसम्म बैंकहरुमा नागरिक लगानी कोषको रु. ९९ अर्ब ४८ करोड रुपैयाँ थियो।