भेनिसले डे ट्रिप पर्यटकलाई ५ युरो शुल्क लगाउने

भेनिसले डे ट्रिप पर्यटकलाई ५ युरो शुल्क लगाउने


काठमाडौं– इटालीको प्रख्यात शहर भेनिसले बिहीवार एक विवादास्पद नयाँ योजना ल्याएको छ । यदी पर्यटकहरू दिनको लागि मात्र भ्रमण गर्छन् भने पाँच युरो (५.४३ अमेरिकी डलर) शुल्क तिर्नुपर्ने भएको हो।

यो कदम नहर शहरको नाजुक पूर्वाधार जोगाउन मद्दत गर्ने उद्देश्यले गरिएको बताइएको छ। यो शुल्क भेनिस बाहिरबाट आउने आगन्तुकहरूलाई मात्र लगाइनेछ।

उत्तरी इटालियन शहर यस्तो योजना अनावरण गर्ने देशमा पहिलो हो। केही वकालत समूहहरूले शुल्कले कम आय भएका यात्रुहरू विरुद्ध भेदभाव गर्ने र आवागमनको स्वतन्त्रतालाई प्रतिवन्धित गर्ने भन्दै बिरोध गरेका छन्।

यो शुल्क अप्रिल २९ देखि जुलाई १४ सम्मका ३० शिखर यात्रा दिनहरूका लागि लिइनेछ। टिकटहरू अनलाइन खरिद गर्नुपर्छ र गैरकानूनी रूपमा शहरमा प्रवेश गरे ३ सय यूरो जरिवाना हुनसक्छ।

शहरका बासिन्दाहरू, १४ वर्ष मुनिका बालबालिका, विद्यार्थी, भेनिसका होटलहरूमा बस्ने आगन्तुकहरू वा खेलकुद वा कामसँग सम्बन्धित कार्यक्रमहरूमा आउने मानिसहरूलाई शुल्क लाग्नेछैन।

बेलुका ४ बजेपछि शहरमा आउनेलाई पनि यो लागू हुने छैन। शहरले टुर ग्रुपका लागि लाउडस्पीकरको प्रयोगमा पनि प्रतिवन्ध लगाएको छ। भेनिस संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठनको एक विश्व सम्पदा स्थल हो । युरोपमा सबैभन्दा धेरै भ्रमण गरिएका शहरहरू मध्ये एक हो। (न्युज एजेन्सी नेपाल)