चिन्तामणि शिवाकोटीलाई कामू गभर्नरको जिम्मेवारी

चिन्तामणि शिवाकोटीलाई कामू गभर्नरको जिम्मेवारी


बैंकिङ समाचार । 

चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरको जिम्मेवारी पाएका छन् । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले अर्को व्यवस्था नभएसम्मका लागि शिवाकोटीलाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् । 

२०७१ साल चैत ५ गते गभर्नरको नियुक्ति पाएका चिरञ्जीवी नेपालको कार्यकाल मंगलबार सकिएपछि शिवाकोटीलाई सो जिम्मेवारी दिइएको हो। अघिल्लो कार्यकालमा गभर्नरको कार्यकाल नसिकँदै नयाँ नियुक्ति हुने गरेको भए पनि यसपटक नयाँ गभर्नरको नियुक्ति हुन नसकेपछि शिवाकोटीलाई कामू गभर्नर तोकिएको हो । 

गभर्नर विदेश जाँदा, बिदामा बस्दा वा अन्य कारणले लामो समय अनुपस्थित हुँदा समेत कायम मुकायम गभर्नरको जिम्मेवारी अर्थमन्त्रीको निर्णयमा वरिष्ठ डेपुटी गभर्नरलाई तोक्ने प्रचलन थियो । 
यही अनुसार शिवाकोटीले गभर्नर नेपाल विदेश जाँदा करिब २५ पटकसम्म यस्तो जिम्मेवारी पाइसकेका छन् ।

यो जिम्मेवारी प्राप्त गर्नेले पूर्णकालीन रुपमा नियुक्त हुने गभर्नरले जत्तिकै काम गर्न पाउँछन् कि पाउँदैनन् भन्ने सम्बन्धमा हालसम्म कुनै पनि कानूनी व्यवस्था छैन । यसमा निर्णयको आवश्यकता र स्वविवेक प्रधान हुने जानकारहरु बताउँछन् । यसअघि कृष्णबहादुर मानन्धरले कामू गभर्नर भएकै अवस्थामा नोटमा हस्ताक्षर समेत गरेका थिए ।